अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

बिज्ञान र प्रविधिको क्षेत्रमा चीनको नयाँ चमत्कार, संसारकै सवैभन्दा लामो सामुन्द्रिक पुल संचालनमा

बिआरटीनेपाल २०७५ कार्तिक ६ गते ९:४१ मा प्रकाशित

एसियाली मुलुक चीनले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ चमत्कार गरेको छ । पछिल्लो समय प्रविधिको क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको चीनले पछिल्लो समय समुद्रमा ५५ किलोमिटर लामो पुल बनाएर पूरै विश्वलाई चकित बनाएको छ । चीनले समुद्रमा निर्माण गरेको ५५ किलोमिटर लामो पुल अहिले विश्वव्यापी चर्चाको विषय बनेको छ ।

संसारकै लामो सो पुलको मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले मकाउ र हङकङका शीर्ष नेताहरु पनि सहभागी एक विशेष कार्यक्रमका वीच उद्घाटन गर्नुभएको छ । उद्घाटन भएसंगै संसारकै सबैभन्दा लामो सामुन्द्रिक पुल मंगलबारदेखि सन्चालनमा आएको छ । सर्वसाधारणका लागि भने यो पुल बुधबारबाट मात्रै खुल्ला गरिनेछ । यो पुल संचालनमा आए संगै अब चीनबाट दक्षिणी सहर झुहाई, हङकङ, र मकाउसम्म सीधै यात्रा गर्न सकिनेछ ।

नवनिर्मित पुलको कुल लम्बाइ मध्ये ३० किलोमिटर समुन्द्रको माथि र बाँकी भाग समुद्रको मुनि पर्दछ । यो पुलको बीचभाग ६.७ किलोमिटर गहिरो छ भने पुलको मार्गमा दुई स्थानमा कृत्रिम ‘आइल्यान्ड’ समेत बनाइएको छ । पानीजहाजलाई ओहोरदोहोर गर्न सजिलो होस् भनेर समुन्द्र मुनिबाट पुललाई लगिएको अधिकारीहरुले जनाएका छन् । साामुद्रिक आँधी र ८ म्याग्निच्यूडसम्मको भूकम्पले पनि पुललाई कुनै क्षति नगर्ने वताईएको छ ।

सो पुल निर्माणमा ४ लाख टन स्टील प्रयोग गरिएको छ, जुन ६० ओटा ‘आइफल टावर’ बनाउन पुग्ने बराबरको परिमाण हो । पुल बनाउने क्रममा १८ जना कामदारको ज्यान समेत गएको थियो भने सयौं मजुदर घाइते भएका थिए । पुलको निर्माणमा २० बिलियन अमेरिकी डलर अर्थात् नेपाली दुई खर्ब रुपैयाँभन्दा बढी खर्च भएको वताईएको छ । करिव ९ वर्ष लगाएर पुल बनाईएसंगै चीनबाट हङकङ, र मकाउसम्मको यात्रा निकै छोटिएको छ ।

पुलबाट दैनिक ९ हजार २०० सवारी–साधन आवत–जावत गर्नसक्नेछन् । यसमा रेलमार्ग भने बनाइएको छैन । पुल सन्चालनमा आएपपछि चीनलाई वर्षेनी ८६ मिलियन अमेरिकी डलर आम्दानी हुने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू