अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

प्रदेश नं २ का मुख्यमन्त्री राउतलाई प्रचण्डको चेतावनी – ओभरटेक गरी दुर्घटना निम्त्याउने काम नगर्नुस्

बिआरटीनेपाल २०७५ कार्तिक ६ गते ९:२३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न चेतावनी दिनुभएको छ । संघीय सरकारलाई ओभरटेक गर्ने काम कहिं कतैबाट भए त्यसले ठुलो दुर्घटना निम्त्याउने तर्फ संकेत गर्दै प्रचण्डले यस्तो चेतावनी दिनुभएको हो । प्रदेश नं २ को सदनबाट हालै पारित प्रदेश प्रहरी ऐनका विषयमा बोल्दै अध्यक्ष प्रचण्डको यस्तो चेतावनी आएको हो । संघीय सरकारको बाटोमा ओभरटेक गर्न खोजिए दुर्घटना निम्तिने उल्लेख गर्दै प्रचण्डले त्यसो भएमा पाएको अधिकार समेत गुम्न सक्ने खतरा रहेको तर्फ सचेत गराउनुभयो ।

सोमबार नेकपा पार्टी प्रदेश नं २ द्वारा जनकपुरमा आयोजना गरिएको साँस्कृतिक पर्व विजया दशमी, दिपावली, छठ तथा ईदको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले संघीय सरकारको नारा अनुरुप समृद्ध नेपाल र सुखी नेपालको सपना पूर्ति गर्न व्यवहारिक कार्यान्वयन आवश्यक भएकोमा जोड दिनुभयो ।

प्रदेश नं २ को सरकारले ल्याएको प्रदेश प्रहरी ऐनको अहिले राष्ट्रिय रुपमा नै चर्चा भैरहेको उल्लेख गर्दै प्रचण्डले संविधानमा समेत संघीय सरकारले संघीय प्रहरी ऐन ल्याएपश्चात् प्रदेशहरुले आफ्नो अनुकुलता अनुसार प्रदेश प्रहरी ऐन ल्याउन सकिने व्यवस्था गरिएको तर, संघीय प्रहरी ऐन ल्याउन केही ढिलाई हुँदैमा त्यसलाई ओभरटेक गरेर प्रदेश प्रहरी ऐन ल्याउनु उचित नभएको ठहर गर्नुभयो ।

सातवटै प्रदेश तहको कार्य संचालनमा कर्मचारीहरुको अपुग रहेको स्विकार गर्दै प्रचण्डले सोही वाहानामा संघीयता विरोधी तत्वहरु सलवलाईरहेको टिप्पणी गर्नुभयो । प्रदेशलाई विफल पार्ने काममा केही शक्तिहरु लागेको भएपनि त्यस्ता मनसायहरुलाई कहिल्यै पुरा हुन नदिने प्रचण्डको चेतावनी थियो ।

काठमाडौंको निर्माण पहाडका मान्छेले मात्रै नगरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले काठमाण्डौंको निर्माणमा मधेसी जनताको रगत पसिना मिसिएर वताउनुभयो । काठमाडौंबाट अल्लगिएर कसैले मधेस बनाउने भन्छ भने त्यो मधेसी जनताको अपमान र धोका हुने प्रचण्डको भनाई थियो ।

राष्ट्रिय एकताले मात्रै मधेसी जनताको अधिकार, सम्मान र विकास सम्भव हुन सक्ने ठोकुवा गर्दै प्रचण्डले विखण्डनकारी आवाजले मधेसी र जनताको अधिकारलाई ध्वस्त बनाउने काम फटाहा र डाँकाको रहेको वताउनुभयो । प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी हुनुभएका नेकपा अध्यक्ष प्रचण्ड समक्ष मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेशलाई निकै असहयोग गर्दै आएको गुनासो राख्नुभएको थियो । मुख्यमन्त्री राउतलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले मुख्यमन्त्री राउतको पार्टीसँग केन्द्रमा संविधान संशोधनबारे सम्झौतामा सरकाले हस्ताक्षर गरेको र उपयुक्त समयमा संविधान संशोधन गरेर मधेसी जनताको यथोचित्त अधिकार प्राप्तीका लागि प्रतिबद्ध रहेको आश्वाशन दिनुभयो ।

कार्यक्रममा वोल्दै मुख्य मन्त्री राउतले संविधानको धारामा टेकेर प्रदेश नं २ को सरकारले प्रदेश प्रहरी ऐन ल्याएको हुनाले यसलाई सहयोग गर्नका निमित्त संघीय सरकारले सक्दो चाँडो संघीय प्रहरी ऐन ल्याओस् भन्ने चाहना रहेको वताउनुभयो । संविधान प्रदत अधिकार प्राप्त गर्नका लागि प्रदेश सरकारले छिटै लोकसेवा ऐन, निजामति सेवा ऐन समेत ल्याउने तयारीमा रहेको उल्लेख गर्दै उहाँले संघीय सरकारले पनि ऐनहरु ल्याउन विलम्ब गर्न नहुने वताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू