अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२४ | Colorodo: 13:39

पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटको तयारी अन्तिम चरणमा

बिआरटीनेपाल २०७५ कार्तिक ५ गते ९:३९ मा प्रकाशित

पोखरामा कात्तिक ९ गतेदेखि शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता सन्चालनका लागि भौतिक पूर्वाधार लगायतको अधिकांश काम सकिइसकेको आयोजकले जनाएको छ । बाँकी कामहरु पनि यथाशीघ्र सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो ।

दर्शकका लागि चार हजार सिट क्षमताको प्याराफिट बनाइएको छ । मैदानका लागि झन्डै तीन महिना अघिदेखि लगातार काम भइरहेको छ । प्रतियोगिता प्रयोजनको लागि चार ओटा पिच तयार भइसकेको र थोरै काम मात्रै बाँकी रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटान्स र पोखरा पल्टन भिड्नेछन् । प्रतियोगितामा विराटनगर, पोखरा, चितवन राइनोज, काठमाडौं रोयल्स, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढी गरी ६ टिम सहभागी हुनेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरु पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिता कार्तिक ९ गते देखि २० गतेसम्म संचालन हुनेछ ।

यसैवीच, नेपाली राष्ट्रिय क्रिकेट टिमका का कप्तान पारस खड्काले पोखरा रंगशालाको क्रिकेट मैदान प्रत्यक्ष नियालिरहनु भएको छ । पोखरा प्रिमियर लिगपछि आवश्यक भौतिक पुर्वाधार थपियोस् भन्ने आफ्नो चाहना रहेको भन्दै झण्डै पाँच वर्षपछि पोखराको मैदानमा उत्रिने अवसर पाएको खड्का वताउनुहुन्छ ।

पोखरा प्रिमियर लिगले पोखराको क्रिकेट खेलको विकास र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिने विश्वास लिईएको छ । पोखरा पल्टनको टिमवाट खेल्न लाग्नुभएका नेपाली क्रिकेट खेलाडी सरद भेसवाकरले आफुहरुले घरेलु मैदानमै खेल्ने अवसर पाएकोले पनि ट्रफि पोखरावाट वाहिर नजाहोस् भन्ने चाहना व्यक्त गर्नुभएको छ ।

प्रतियोगिता नजिकिदैं गर्दा क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसिसीले पोखरा प्रिमियर लिगलाई मान्यता दिएको छ । आसन्न पोखरा प्रिमियर लिगअघि एभरेस्ट प्रिमियर लिगको पहिलो संस्करण र धनगढी प्रिमियर लिगको दोस्रो संस्करण सम्पन्न भइसकेका छन् । । अन्य शहरले पनि स्थानीय स्तरमा प्रिमियर लिग भने संचालन गर्दै आएका छन् ।

 

प्रतिक्रिया