अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

नेकपा सचिवालय वैठक/ प्रवक्ता श्रेष्ठको राजिनामा अस्वीकृत, अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि

बिआरटीनेपाल २०७५ कार्तिक ५ गते ९:२७ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेकपा केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले श्रेष्ठले प्रवक्ताबाट दिनुभएको राजीनामा अश्वीकृत गरेको हो । डा.गोविन्द केसीको अनसन प्रकरण र त्यसपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले गरेका कतिपय निर्णयमा नीतिगत असहमति जनाउँदै प्रवक्ता श्रेष्ठले यसअघि सचिवालय समक्ष राजीनामा दिनुभएको थियो । श्रेष्ठको राजीनामा लामो समयदेखि अनिर्णित अवस्थामा रहेको थियो ।

सोमवारको सचिवालय  बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टि देखि प्रवक्ता श्रेष्ठले उठाएका नीतिगत विषयमा समेत लामो छलफल भएको नेकपा स्रोतले जनाएको छ । यसअघि, आइतबारको बैठकमा वरिष्ठ नेता बामदेव गौतमले आफ्नो असन्तुष्टि पोख्नुभएको थियो । आईतवारको बैठकले सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको थियो ।

सोमबारको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले नेताहरुका असन्तुष्टि र नीतिगत रुपमा उठाएका प्रश्नहरुलाई गम्भीरतापूर्वक लिने र आगामी दिनमा सच्याउँदै अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । बैठकमा नेताहरुले विशेषतः अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

पार्टीका विभिन्न कमिटीहरुको एकीकरण र जनवर्गीय संगठनहरुको एकताबारे छलफल गर्न बुधबार पुनः सचिवालयको बैठक बस्ने भएको छ । सो बैठकले एकताको प्रस्ताव तयार पारेर कात्तिक १२ र १३ गते बस्ने बस्ने स्थायी कमिटी बैठकमा पेश गर्ने नेकपाको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू