अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

अन्तर्राष्ट्रिय वजारमा नेपाली छुर्पीको माग वढ्दो,अमेरिका मुख्य वजार

बिआरटीनेपाल २०७५ कार्तिक ४ गते १०:१४ मा प्रकाशित

अन्तर्राष्ट्रिय वजारमा नेपाली छुर्पीको माग वढेको छ । नेपालको हिमाली क्षेत्रमा उत्पादित छुर्पीको निर्यात बर्सेनी वढ्न
थालेसंगै माग पनि वढेको हो । पछिल्लो एक तथ्यांक अनुसार विश्वका विभिन्न १९ मुलुकमा नेपाली छुर्पी निर्यात भएको छ । विगतमा नेपालभित्रै कोसेलीको रुपमा मानिसले चपाउने छुर्पी अहिले अन्तर्राष्ट्रिय वजारमा निर्यात भएसंगै डलर आर्जन गर्ने एक गतिलो माध्यम वनेको छ ।

चौंरी गाई, भेडा र वाख्राको दुधबाट बनाइने छुर्पी आर्थिक वर्ष २०७४/०७५ को ११ महिनामा ८० करोड ३ लाख २४ हजारको निर्यात भएको व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । ५ लाख ३९ हजार २ सय ८० किलो छुर्पी बाहिरिँदा नेपाललाई यो आम्दानी भएको हो । अघिल्लो वर्षको तुलनामा यो आम्दानी झण्डै दोब्बरले बढी हो । अघिल्लो आर्थिक वर्षको १२ महिनामा ५२ करोडको छुर्पी निर्यात भएको थियो ।

अमेरिका मुख्य वजार

नेपाली छुर्पीकालागि अहिलेसम्मको सबैभन्दा ठुलो बजार अमेरिका वनेकोे छ । अमेरिकाले ७२ करोड ६० लाख ९४ हजारको छुर्पी खपत गरेको छ । तर, यो छुर्पी भने कुकुरको खाद्यान्नका लागि लगिएको हो । उक्त प्रयोजनका लागि इलाममा छुर्पी प्रशोधन गर्ने केन्द्र खुलेका छन । इलाममा उत्पादन हुने छुर्पी काठमाडौंमा प्रशोधन गरिन्छ र विदेश निर्यात गर्ने गरिन्छ । किसानले ४५ दिनसम्म लगाएर तयार पार्ने छुर्पी प्रशोधनका लागि मात्रै काठमाडौंमा थप ६ महिना राख्ने गरिन्छ ।

दोश्रो वजार क्यानडा

नेपाली छुर्पीका लागि अमेरिका पछिको दोश्रो बजार क्यानडा हो । क्यानडाले नेपालवाट ३ करोड ६९ लाख ९१ हजार मूल्य बराबरको २६ हजार किलो छुर्पी लगेको छ । विदेश निर्यात भएको मध्ये सबैभन्दा कम लैजाने मूलुकमा इजरायल परेको छ । त्यहाँ १० किलो मात्रै निर्यात भएको छ । ब्यवसायीक रुपमा नभएर यो त्यहाँ रहेका नेपालीले कोसेलीको रुपमा लगेका हुन । २४ हजार ९ सय ५९ रुपैंयाको छुर्पी इजरायल गएको तथ्यांकमा उल्लेख छ । पछिल्लो बर्ष हङकङ, इजरायल, जापान, कोरिया, मलेसिया, सिंगापुर, ताइवान, थाइल्याण्ड, युएइ, भारत, क्यानडा, अमेरिका, जर्मन, बेलायत र रसिया लगायतका देशमा छुर्पी निर्यात भएको छ ।

गत आर्थिक वर्षको तथ्यांक हेर्दा नेपाली छुर्पी कोरियामा १ करोड ३१ लाखको १० हजार ४६ किलो निर्यात भएको छ भने ताइवानमा ६ हजार ७३, भारतमा २ हजार ७ सय, जापानमा २ हजार ७ सय १२, हङकङमा १ हजार १ सय ८१, सिंगापुरमा ९ सय १८ किलो निर्यात भएको छ ।

कसरी वनाईन्छ त छुर्पी ?

हिमाली क्षेत्रमा चौंरी विहान र बेलुका गरी दिनमा दुई पटक दुहिन्छ । दुधलाइ सफा भाँडोमा जम्मा पारिन्छ । भएसम्म त्यसलाइ नजिकको खोला किनारमा लगेर राखिन्छ । भाँडो अड्याउनका लागि वरिपरि दह बनाइएको हुन्छ । दहको दाँयाबाँयाबाट पानी वग्ने प्रवन्ध मिलाईन्छ । सकेसम्म दुधको भाँडो नदी किनारमा सुरक्षित वनाएर राखिन्छ । त्यो पनि नभए चिसो हुने ठाउँ पहिचान गरी डाँडामा राखिन्छ । दुधलाइ चिस्याउन यसरी राखिएको हो । चिस्याएको दुधमा राम्ररी फिंज जम्छ । बिहान राखेको बेलुका र बेलुका राखेको दुध भाँडैंसँग गोठमा लगिन्छ । डाडुले यस्को घिउको भाग (जस्लाई स्थानिय भाषामा फिंज भनिन्छ) निकालेर टोक्तोङ (मोही पार्ने भाँडो) मा राखिन्छ । त्यपछि, घिउ बाहेकको दुधलाइ तताएर मनतातो बनाइन्छ । टोक्तोङमा पारेर घिउ र दुधको मात्रा फेरी छुट्याइन्छ ।

घिउ छुट्टिएको दुधलाइ ठुलो भाँडोमा हालेर उमालिन्छ । उम्लिएपछि दुधलाई फटाउन मात्रा मिलाएर कागतीको रस या चुक हालिन्छ । फाटेर डल्ला डल्ला भएपछि तात्तातै सफा जुटको बोरामा पोको पारिन्छ । त्यो बोरालाइ काठ र त्यसमाथी ढुङगा राखेर थिचिन्छ । यसरी थिचेको ४/५ घण्टामा उक्त पदार्थ चेप्टो हुन्छ । त्यसपछि बोराबाट निकालेर लाग्ने चक्कु वा खुकुरीले चोइली बनाइन्छ । प्रत्येक चोइलीको सिरानमा काम्छा (धागो) उन्ने दुलो वनाईन्छ । यस्लाइ धागोले उनेर घरको भारमा सुकाउने गरिन्छ । राम्ररी सुकेपछि छुर्पी तयार हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू