अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा “नाङसाल” सञ्चालन

बिआरटीनेपाल २०७५ कार्तिक १ गते ९:२२ मा प्रकाशित

न्यु योर्क, तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरूको निम्ति नेपाली भाषाको कक्षा “नाङसाल” सञ्चालनमा ल्याएको छ ।

अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाहरूले नेपाली भाषा बोल्न छाडेका कारण तामाङ समाज अमेरिकाले प्रवासमा रहेको नेपाली बालबालिकाहरूलाई नेपाली भाषा, रितिथिति, भेष-भूषा, संस्कार-संस्कृति सिकाउने मुख्य उद्देश्यका साथ नेपाली भाषाको कक्षा “नाङसाल” सञ्चालनमा ल्याइएको हो ।

तामाङ समाज अमेरिकाले नेपाली समुदायको बालबालिकाहरूलाई नेपाली भाषा, रितिथिति, संस्कार संस्कृति, भेषभुषा आदिको संरक्षण, संवर्द्धन र विकास गर्दै पछिल्लो पुस्तालाई सिकाउँदै हस्तान्तरण गर्ने मुख्य लक्ष र उद्देश्यका साथ “नाङसाल” नेपाली भाषा कक्षा सञ्चालनमा ल्याएको हो । हरेक आइतबार बिहान १० बजे देखि १२ बजे सम्म दुई घण्टा कक्षा सञ्चालन गरिएको र छिट्टै तामाङ भाषा र अङ्ग्रेजी भाषाको कक्षा सञ्चालनको लागि गृहकार्य गरिरहेको छ । विद्धार्थीहरूलाई संयोजन गर्ने र नेपाली भाषाको कक्षा सञ्चालन गर्ने काम बाल विभागका संयोजक रेणु बाइबा तामाङ र कोषाध्यक्ष फुरु लामा तामाङले गर्नु भएको छ ।

नेपाली डायस्पोरामा एकता र आपसी सद्भावको अभिवृद्धिका साथसाथै सबल, सभ्य र स्वास्थ्य समाजको परिकल्पना सहितको शिक्षाले संस्थाको लक्ष्य र उद्देश्य अनुरूपको काम गर्न थालेको तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङ्ले बताउनु भयो ।

तामाङ समाज अमेरिकाको कार्यालयमा नेपाली भाषाको कक्षा सञ्चालन भइरहेको हुँदा अमेरिकामा रहेका सबै अभिभावकहरूलाई आफ्नो बालबालिकाहरूलाई नेपाली भाषाको कक्षामा सहभागी गराई दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

स्थान:-३९-३० ५८ स्ट्रीट, तामाङ समाज अमेरिकाको कार्यालय
समय : हरेक आइतबार बिहान १० बजे देखी १२ बजे सम्म ।

तामाङ समाज अमेरिकाले भव्यरूपमा ल्होछार मनाउने
यसै बिच तामाङ समाज अमेरिकाले आउँदै गरेको “२८५५ औँ फा ल्हो” सोनाम ल्होछार भव्यताका साथ मनाउने भएको छ ।

अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा तामाङ समाज अमेरिकाको कार्यालयमा बसेको कार्यसमितिको बैठकले २ फेब्रुवारी २०१९ शनिवार दिन Five Star Banquet 13-05 43rd Ave, Long Island City, NY मा “२८५५ औँ फा ल्हो ” सोनाम ल्होछार भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

तामाङ भाषा, धर्म, संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ २८५५ सोनाम ल्होछारलाई मौलिक परम्परा एवं सन्देश मूलक तरिकाबाट मनाउने भएको छ । ल्होछारको लागि स्थान तय भैसकेको र अन्य तयारीअघिबढी रहेको तामाङ समाज अमेरिकाले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू