अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

विश्व टी–२० एसिया छनोट समूह ‘बी’ को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

बिआरटीनेपाल २०७५ असोज २७ गते ९:४१ मा प्रकाशित

विश्व टी–२० एसिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार अपराह्न स्वदेश फर्केको छ । मलेसियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए ।

शुक्रबार भएको छनोट चरणको अन्तिम खेल रद्ध भएपछि रनरेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो । उपाधिसँगै नेपाल विश्व टी–२० एसिया छनोट समूह ‘बी’को विजेताकारुपमा दोस्रो चरणको छनोटमासमेत पुगेको छ । नेपालसँगै सिंगापुर उपविजेता र मलेसिया पनि शीर्ष तीनमा रहँदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ ।

स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फेरि विश्वकप खेल्ने सपना रहेको वताउनुभयो । अर्को चरणको खेल अहिलेको जस्तो सजिलो नहुने बताउँदै कप्तान खड्काले त्यसका लागि अहिलेदेखि नै तयारी अघि बढाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

एसिया छनोटमा ६ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाइसकेका छन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये ६ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया