काठमाडौँ । विज्ञहरूले मुलुकको विकासका लागि विज्ञान र प्रविधिको प्रयोगमा विशेष जोड दिएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आयोजनामा राजधानीमा सञ्चालित विज्ञ सम्मेलन अन्तर्गत ‘विज्ञान तथा प्रविधि नीति’ विषयक छलफलमा विज्ञहरूले यस्तो बताएका हुन ।
‘विज्ञान तथा प्रविधि नीति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. दिनेश राज भुजुले विज्ञान र प्रविधि विकास लक्ष्य प्राप्तिका लागि प्रमुख चालक भएको बताए । नेपालमा विज्ञान तथा प्रविधि सम्बन्धी नीति १९८९ मा प्रकाशन भएको र त्यसलाई सन् २००४ मा संशोधन गरिएको भए पनि उक्त नीति पुरानो भन्दै उनले सरोकारवाला निकायको ध्यानाकर्षण पनि गराए । नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा मानव संसाधनको विकास भइरहेको जानकारी दिँदै उनले विज्ञान तथा प्रविधि अध्ययनमा पनि आकर्षण देखिएको र शैक्षिक संस्थाहरूको पनि क्रमशः विकासहुदै गएको बताए ।
त्यस्तै युनेस्कोका विज्ञान तथा प्रविधि विज्ञ Eduardo Martinez ले ‘नेपालमा विज्ञान, प्रविधि र नवीनता सङ्घीय रणनीति र नीति २०१९–२०२२’बारे अवधारणापत्र प्रस्तुत गरेका थिए । वैज्ञानिक अनुसन्धानले नयाँ ज्ञान हासिल गर्न मदत गर्ने भन्दै उनले वैज्ञानिक ज्ञानलाई उत्पादन र विकाससँग जोड्नुपर्नेमा जोड दिए । प्रविधिको प्रयोगले हरेक मुलुकलाई विकासको द्रुत गतिमा अघि बढ्न सघाउने भन्दै उनले नेपाल सरकार र अन्य सरोकारवाला निकायले पनि प्रविधिको प्रयोगबारे रणनीति योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
छलफलमा वक्ताको रूपमा सहभागी नेपाल सरकारका पूर्व सचिव डा. गणेशराज जोशीले नेपाल प्रविधिको क्षेत्रमा निकै अघि बढिसकेको बताए । कृषि प्रधान मुलुक नेपालमा कृषिको उत्पादन वृद्धिमा पनि विज्ञान र प्रविधिको ठुलो योगदान रहेको भन्दै उनले प्रविधिले सहजता मात्र नभई उत्पादन वृद्धिमा समेत मदत गर्ने बताए । विज्ञान प्रविधिको प्रयोगमा केही समस्या भए पनि यसले मुलुकको विकासमा मदत गर्ने भन्दै पूर्वसचिव जोशीले यसको प्रयोगमा जोड दिए ।
हान्नोभर (Hannover Medical School, German) मेडिकल स्कुल जर्मनमा उपाध्यक्ष प्राध्यापक मालक श्रेष्ठले प्रविधिको प्रयोगका लागि पूर्वाधार महत्त्वपूर्ण भएको बताए । ‘नेपालमा पनि प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दो छ, उनले भने–तर त्यो पर्याप्त छैन । नेपाल सरकारले प्रविधिको उपयोगमा विशेष जोड दिन आवश्यक छ ।’ केन्द्र सहित सङ्घीय संरचना अनुसार गठित सात वटै प्रादेशिक सरकारले प्रविधि शिक्षाको विकासमा जोड दिनुपर्ने उनको सुझाव थियो ।
त्यस्तै, विज्ञान तथा प्रविधि विज्ञ फेर मान्दो कुईभेन्दो (Fernando Quevendo) ले प्रविधिको प्रयोग अत्यावश्यक भएको उल्लेख गर्दै त्यसको प्रयोगमा कुनै पनि मुलुक पछि पर्न नहुने बताए । विकासोन्मुख मुलुकहरूमा प्रविधिको प्रयोगमा केही जटिलता भए पनि दीर्घकालीन हितका लागि अत्यावश्यक भएको भन्दै उनले प्रयोगका लागि सुझाव दिए ।
त्रिभुवन विश्व विद्यालयको वातावरण विज्ञान विभाग प्रमुख रेजिना मास्केले नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा क्रमिक रूपमा सफलता हासिल गरिरहेको जानकारी दिइन । सन् १९८० देखि नेपालमा यसको अध्ययन सुरु भए पनि अहिले विभिन्न विश्वविद्यालयहरूले त्यसको अध्ययन, अध्यापन गराइरहेको र सोही अनुसार अध्ययनमा आकर्षण पनि बढ्दै गएको उनले बताइन । तर आवश्यक जनशक्तिको अभाव हुँदा नेपालले प्रविधिको भरपुर उपयोग गर्न भने नसकेको मास्केको स्वीकारोक्ति थियो ।
यसै गरी, इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) का पूर्व सहायक डिन डाक्टर शरद वन्तले नेपालका अस्पतालहरूमा सन् १८६० मा इसिजि र १९७५ मा आसियुको प्रयोग गरेको भए पनि अहिले नेपालका अस्पतालहरूमा धेरै अन्तर्राष्ट्रिय स्तरको प्रविधि प्रयोग भइरहेको जनाकारी दिए । ‘प्रविधिको प्रयोग मात्र भन्दा पनि त्यसको गुणस्तरलाई पनि विशेष ध्यान दिनुपर्छ उनले भने – अर्को नेपालको सन्दर्भमा प्रविधिको समान वितरण पनि प्रमुख कुरा हो । यसलाई राज्यले पनि विशेष रूपमा ममन गर्न जरुरी छ ।’