प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भर बनाउनुको विकल्प नरहेको वताउनुभएको छ । उहाँले सहकारीको माध्यमवाट उत्पादकत्व वृद्धि गरी देशलाई सम्वृद्ध पार्न सकिने वताउनुभयो । सहकारी आन्दोलनका अभियन्ता केशव बडालको जीवनीमा आधारित पुस्तक ‘इमानको इन्द्रेणी’ को शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले उत्पादन बढाउँदै आयात कम गरेर निर्याततर्फ जोड दिने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
सरकारको तीनखम्बे अर्थनीति अन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सानो पूँजीलाई एकत्रित गरी आर्थिक समृद्धिका लागि सहकारीको भूमिका अतुलनीय रहेको औल्याउनुभयो ।
प्रधानमन्त्री ओलीले देशको अधिकांश उर्वर भूमि खन्डित अवस्थामा रहेको भन्दै त्यस्ता जमिनमा एकै किसिमको उत्पादनमा जोड दिने वताउनुभएको छ । सरकारले सहकारी आन्दोलन र त्यसको उपयोगितालाई राम्ररी बुझेकाले यस क्षेत्रको विकासलाई महत्व दिएको पनि प्रधानमन्त्रीको भनाई थियो ।
कार्यक्रममा वोल्दै पररराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सहकारी अभियन्ता बडालले सहकारीको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो । पुस्तक अनिल पौडेलले लेख्नुभएको हो ।