अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

राजधानीमा विज्ञहरूको विश्व सम्मेलन उद्घाटन

बिआरटीनेपाल २०७५ असोज २६ गते ११:३४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । राजधानीमा आजदेखि सुरु भएको गैरआवासीय नेपाली विज्ञहरूको विश्व सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालको पहिचान विश्व सामु प्रस्तुत गर्न सङ्घले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले विकासका लागि ज्ञान र सीपको उपयोग गर्नै पर्छ भन्नुभयो । उहाँले विज्ञ सम्मेलनले गरेको निष्कर्ष विकासका लागि सरकारलाई महत्त्वपूर्ण सुझाव हुने उल्लेख गर्नुभयो । नेपालको मौलिक संस्कृति विश्व सामु परिचित गराउन सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले नेपाल विश्वकै छुट्टै पहिचान भएको देश हो भन्नुभयो । “अध्ययन, अनुसन्धान, अनुभवले विकासको आधार तयार पार्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, अब आर्थिक समृद्धिका लागि सबैको सहभागिता जरुरी छ ।” 

उहाँले भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरूको योगदान महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरण, प्रविधिको प्रयोग आवश्यक भएको उल्लेख गर्दै पूर्वाधार विकास तथा जलविद्युत् उत्पादनको क्षेत्रमा लगानी गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले आवश्यक नीति निर्माण परिमार्जन गरेरै भए पनि लगानीको वातावरण सिर्जना गर्ने बताउनुभयो । नेपालको पर्यटन विकासमा गैरआवासीय नेपालीहरूले अझै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै उहाँले नेपाललाई विश्वका विकसित देशसँग सुदृढ सम्बन्ध स्थापना गर्ने माध्यमका रूपमा गैरआवासीय नेपालीले इमानदारीपूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले बढ्दो व्यापार घाटाले देशको अर्थतन्त्र चुनौतीको मोडमा पुगेको वास्तविकता औँल्याउँदै त्यसो हुन नदिन महासङ्घले निर्यातमूलक उद्योगको प्रवर्द्धनमा जोड दिएको बताउनुभयो ।

सङ्घका अध्यक्ष भवन भट्टले विदेशमा सिकेका ज्ञान र सीपसँगै लगानी गरेर नेपाललाई समृद्ध तुल्याउन आफूहरू दृढ रहेको बताउनुभयो । उहाँले पूँजीमात्रै नभई विदेशमा सिकेका ज्ञान, सीप र अनुभवको सदुपयोग गर्न सरकारसँग आग्रह गर्नुभयो । 

सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष उपेन्द्र महतोले मातृभूमि नेपालको विकासलाई आफूहरूले प्राथमिकता दिएको स्पष्ट गर्नुभयो । सम्मेलनमा पूर्व अध्यक्षद्वय शेष घले र जीवा लामिछानेले लगानी मैत्री नीति आवश्यक भएको भन्दै त्यसो भएमा गैरआवासीय नेपालीले हृदय खोलेर लगानी गर्ने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू