अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

जहाँ पुगे पनि आफ्नो मातृभूमि, भाषा धर्म र संस्कृतिलाई भुल्नु हुँदैन: सभापति राई

बिआरटीनेपाल २०७५ असोज २६ गते ७:५१ मा प्रकाशित

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रीय सभापति विष्णु राईले राईहरू संसारको जुन कुनामा पुगे पनि आफ्नो भाषा, संस्कृति र जन्मभूमिलाई भुल्न नहुने बताएका छन् । 

किराँत राई यायोख्खा युकेको निमन्त्रणमा युके पुगेका सभापति राईले आफ्ना भावी सन्ततिलाई पनि बाटो देखाउनु पर्ने र आफ्नो भाषा संस्कृतिका बारेमा अवगत गराउनु विशेष प्राथमिकता दिनुपर्ने बताएका थिए । उनले संसारभरिका राईहरूको छाता सङ्गठन बनाएर एकताबद्ध भएर सहयोग तथा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए । किराँत राई यायोख्खा युकेकी सभापति कल्पना राईको अध्यक्षतामा सम्पन्न भएको उक्त भेटघाट तथा स्वागत कार्यक्रममा किराँत राई  यायोख्खाका अन्य शाखाका अध्यक्षहरूले पनि सभापति राईलाई खादा तथा फूलमालाले स्वागत गरेका थिए । 

कार्यक्रममा किराँत राई यायोख्खाकी सभापति कल्पना राईले युकेमा रहेका राईहरू तथा त्यहाँको गतिविधिका बारेमा आफ्ना भनाई राखेकी थिइन् ।  सोही अवसरमा सभापति विष्णु राईले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदैं आगामी कार्यकाल सफलताको कामना गरेका थिए । उनले युकेको भ्रमणका क्रममा विभिन्न क्षेत्रमा रहेका क्षेत्रीय समितिका पदाधिकारीहरूसँग भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रदेश नं १ किराँत प्रदेश हुनुपर्नेमा जोड दिएका थिए । जसमा केन्द्रीय तथा क्षेत्रीय समितिका पदाधिकारीहरूले पनि त्यस विषयमा सरोकार राखेका थिए ।

सभापति राईले आउँदो वर्षको साकेला २०१९ का लागि युकेका क्षेत्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सभापति कल्पना राईलाई साकेलाको निमन्त्रणा समेत दिदैं अन्य देशका संस्थाका साथीहरूलाई पनि निमन्त्रण दिने बताएका थिए । कार्यक्रमकी सञ्चालिका तथा संस्थाकी महासचिव श्रीमती चन्द्रावती राईले यु्नाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका र किराँत यायोख्खा युकेको बिचमा एकआपसमा अनुभव साटासाट गरिनुका साथै सहकार्य गरेर अघि बढ्ने छलफल भएको बताइएकी छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू