अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

निलम कार्की ‘निहारिका’ मदन पुरस्कारबाट सम्मानित

बिआरटीनेपाल २०७५ असोज २६ गते ७:४१ मा प्रकाशित

काठमाडौँ, अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा बसोबास गर्दै आउनु भएकी निलम कार्की निहारिकालाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको छ । मदन पुरस्कार गुठीले गत बिहीबार रातो बङ्गलास्थित दीक्षित नाट्यशालामा एक कार्यक्रमका बिच सम्मान तथा पुरस्कार वितरण गरेको हो । 

निलम कार्की निहारिकाको कृति ‘योगमाया’ ले मदन पुरस्कार प्राप्त गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले निलम कार्की निहारिकाको पुस्तक ‘योगमाया’ले हाम्रो समाजमा कम देखेका, कम सुनेका, कम लेखेका वा कम बुझेका थुप्रै पात्रहरू साहित्यमार्फत अगाडि बढ्ने विश्वास रहेको बताउनुभयो ।

मदन पुरस्कार लिँदै निलम कार्की निहारिकाले आफ्ना गुरु तथा रेडियो नेपालका कार्यक्रम प्रस्तोता दाहाल यज्ञनिधिको अनुपस्थिति खट्किएको बताउँदै भावुक हुनुभएको थियो ।

निहारिकाले दाहाल आफ्ना गुरु यज्ञनिधिले गृहकार्यको रूपमा सुझाएको पाठ इमान्दारीपूर्वक खोज गरेर तयार पारिएको पुस्तक नै ‘योगमाया’ रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले लेखिसकेको अवगत गराउँदा उहाँ अति नै हर्षित हुनुभएको थियो; मेरो दुर्भाग्य जब मदन पुरस्कार घोषणा भयो, मेरा गुरु भने यस दुनियाँमा रहनुभएन ।’ 

आफू सानो छँदा दाहाल यज्ञनिधिकै रेडियो कार्यक्रम ‘साहित्य संसार’ सुनेर नै साहित्यमा रुचि बढेको र पछि उहाँसँगै सहकार्य गर्न पाउँदा गुरुको रूपमा उहाँलाई पाएको स्रष्टा निहारिकाले बताउनुभयो ।

२०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो । मदन पुरस्कार गुठीले पुरस्कार दिने वर्षभरि प्रकाशित भएका पुस्तकहरू मध्यबाट छानेर पुरस्कार प्रदान गर्ने गर्दछ ।

पुरस्कारको राशि २ लाख रहेको छ । वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो । 

तस्बिर सौजन्य/समाचार श्रोत : निलम कार्की निहारिका/उज्यालो अनलाइन डटकम

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू