अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

विखण्डनवादी तत्वहरूको गतिविधिमा सूक्ष्म निगरानी – प्रधानसेनापति थापा

बिआरटीनेपाल २०७५ असोज २५ गते ९:३९ मा प्रकाशित

नेपाली सेनाले संविधान विरोधी विखण्डनवादी तत्वहरूको गतिविधिलाई सूक्ष्म निगरानी गरिरहेको जनाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधान विरोधी विखण्डनवादी तत्वहरूले ल्याउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई नेपाली सेनाले सूक्ष्म ढंगले नियालिरहेको वताउनुभएको हो । बिहिबार सैनिक जंगी अड्डा भद्रकालीमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै उहाँले संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको परम कर्तव्य भएको उल्लेख गर्दै त्यसमा साथ दिन सवैलाई आव्हान गर्नुभयो ।

प्रधानसेनापति थापाले राष्ट्र निर्माण र विपद् व्यवस्थापनमा नेपाली सेनाले खेल्दै आएको भूमिका आगामी दिनमा अझै विश्वसनीय बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । थापाले सरकारको कानुनसम्मत आदेश र निर्देशनहरूको पालना गर्ने दायित्वबाट विचलित नहुने पनि स्पष्ट पार्नुभयो ।

नेपाली सेनालाई भनसुन, आफन्तवाद र निकटताको प्रभावमा पर्न नदिन पनि आफू सचेत रहेको थापाको भनाई थियो । प्रधानसेनापति थापाले नेपाली सेनालाई वर्तमान र भविष्यको जिम्मेवारी पूरा गर्न सक्ने गरी सुदृढ, सक्षम र सफल संगठनको रूपमा स्थापित गराउन आफू लागिपरेको पनि स्मरण गराउनुभयो । प्रधानसेनापति थापाले गुण, दोष र कार्यक्षमताको आधारमा नेपाली सेनाका कर्मचारीहरूलाई अवसर दिने प्रणालीको विकास स्थापित गराउन आफूले काम सुरू गरेको सो अवसरमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू