अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५ | Colorodo: 07:50

प्रहरी दिवसः प्रदेश नं ४ मा विशेष कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ असोज २५ गते ९:३७ मा प्रकाशित

६३ औं प्रहरी दिवसको अवसरमा ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय सशस्त्र प्रहरी गण पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समेतको को उपस्थिति र प्रमुख आतिथ्यतामा अमर प्रहरी प्रति श्रद्धाञ्जली तथा पुर्नमिलन कार्यक्रम गरिएको हो । सो अवसरमा कर्तव्य पालनाका शिलसिलामा प्राणको आहुति दिने अमर प्रहरीहरुप्रति सम्मान गर्दै अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले समयको परिवर्तनसंगै आम नागरिकले नेपाल प्रहरीलाई साथीका रुपमा लिन थालेको वताउनुभयो । आम नागरिककमा प्रहरी प्रतिको विश्वास बृद्धि गराउन थप जनलक्षित कार्यक्रम आवश्यक हुने उहाँको भनाई थियो । प्रहरी संगठनलाई प्राविधिक हिसावले स्रोत साधन तथा दक्षताले सम्पन्न बनाउनुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिनुभयो ।

कार्यक्रममा वोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले नेपाल प्रहरी सक्षम रहेको भन्दै थप आधुनिकिकरण र स्रोत साधनले सम्पन्न गराउन आवश्यक रहेको बताउनुभयो । ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले राष्ट्रको संस्थागत र प्रशासनिक विकासका क्रममा जस्ता सुकै चुनौतीहरुलाई पनि सामना गर्न नेपाल प्रहरी हरदम तयार रहेको बताउनुभयो ।

प्रहरी दिवसको अवसरमा सञ्चालन गरिएका विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुका साथै उत्कृष्ट काम गर्ने ब्यक्ति र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा कदर पत्र समेत प्रदान गरिएको थियो । उत्कृष्ट साहसिक कार्य तर्फ सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट प्रहरी जवान ओम बहादुर सोमै सम्मानित हुनुभएको छ । त्यस्तै, उत्कृष्ट अपराध अनुसन्धान तर्फ जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी साहायक निरीक्षक सन्तोष सुवेदी, उत्कृष्ट साहसिक कार्य (प्राकृतिक प्रकोप उद्दार तर्फ) जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायब निरीक्षक हीरा थापा मगर, उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फ वडा प्रहरी कार्यालय वालिंग स्याङ्जाबाट प्रहरी निरीक्षक शंकर प्रसाद आचार्य सम्मानित हुनुभएको छ । त्यस्तै, उत्कृष्ट ट्राफिक प्रहरी कर्मचारी तर्फ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक ऐनबहादुर मल्ल, उत्कृष्ट कार्यालय ब्यबस्थापन तथा अन्य तर्फ वडा प्रहरी कार्यालय वैदाम कास्कीका प्रहरी नायब उपरीक्षक नविन कार्की सम्मानित हुनुभएको छ । कार्यक्रममा उत्कृष्ट प्रहरी कार्यतर्फ प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक गोविन्द पुरी र उत्कृष्ट जिल्ला प्रहरी प्रमुख तर्फ कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू