अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५० | Colorodo: 11:05

सिक्किमको साङ्गीतिक समूह आशिष् सुदर्शनको ‘हाट बजार’ काठमाडौँमा सार्वजनिक

कृष्ण भट्टराई २०७५ असोज २५ गते ७:५२ मा प्रकाशित

काठमाडौँ– सिक्किमका दुई युवा संगीतकर्मीहरु आशिष् तामाङ तथा सुदर्शन सुनारको साङ्गीतिक समूह ‘आशिष् सुदर्शन’ ले तयार पारेका पप, आधुनिक तथा लोक–आधुनिक शैलीका गीतहरूको एलबम ‘हाट बजार’ बिहीबार काठमाडौँमा लोकार्पण गरिएको छ । गायकद्वय आशिष् तथा सुदर्शनसहित टेलिभिजनकर्मी सो नाम छिरिङ लामा तथा अभिनेत्री नम्रता सापकोटाले संयुक्त रूपमा उक्त गीति एलबम लोकार्पण गरेका हुन् । 

सन् २०१५ मा स्थापना भएको साङ्गीतिक समूह ‘आशिष् सुदर्शन’ का दुई गायकले लोप हु“दै गएको हाट–बजार शब्दलाई गीतमार्फत दर्शक तथा श्रोतामाझ प्रस्तुत गरेका हुन् । विमोचित एलबममा दुई गायकको स्वरका आठ वटा गीत समावेश गरिएका छन् । एलबमका सबै गीतहरू गायकद्वय आशिष् र सुदर्शनले रचना गरेका हुन् भने उनीहरूले नै ती गीतहरूलाई संगीतबद्ध गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै गायक सुदर्शन सुनारले एलबमका सबै गीतहरूमा नेपाली मौलिक बाजाहरू प्रयोग गरिएको बताए । गायक आशिष् सुनारले एलबमका सबै गीतहरू दार्जिलिङको रिदम रेकर्डिङ्समा रेकर्डिङ गरिएको जानकारी दिए । जीवन प्रकाश प्रधानले एलबमका गीतहरू रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

एलबमको समावेश चाउरी पर्ला…गीतको म्युजिक भिडियोमा अभिनय गर्ने अभिनेत्री नम्रता सापकोटाले सिक्किमका युवा गायकहरूको नेपाली गीत–सङ्गीतप्रतिको लगावलाई मुक्त कण्ठले प्रशंसा गरिन् ।

समारोहमा एलबममा समावेश ‘चाउरी पर्ला…’ गीतको म्युजिक भिडियो प्रिमियर गरियो । एमएनएस भिम्यागसंग आबद्ध सोनम छिरिङ लामाले उक्त म्युजिक भिडियो निर्देशन गरेका हुन् । काठमाडौँमा छायाङ्कन गरिएको उक्त भिडियोमा अभिनेत्री नम्रता सापकोटा तथा श्रीजल रुपाखेतीले अभिनय गरेका छन् । विजय कोजुद्वारा छायाङ्कन गरिएको उक्त भिडियोलाई जितेन्द्र श्रेष्ठले सम्पादन गरेका हुन् ।

यस्तो छ ‘चाउरी पर्ला…’को म्युजिक भिडियो