अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 01:35

लन्डनमा मानसिक स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७५ असोज २५ गते ७:१२ मा प्रकाशित

संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग र विकास सम्बन्धी सङ्गठन (OECD) को संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी लन्डनमा मानसिक स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन यही ९ अक्टोबर २०१८ मा आरम्भ भई एक्काइसौँ शताब्दीमा मानसिक स्वास्थ्यमा समानता प्राप्तिको लक्ष्य निर्दिष्ट विश्व घोषणाको जारी गर्दै सम्पन्न भयो । 

उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै उप—प्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसङ्ख्या मन्त्री माननीय श्री उपेन्द्र यादवले आज पूर्ण सत्रलाई सम्बोधन गर्नुहुँदै मानसिक स्वास्थ्य समस्या अल्प विकसित र विकासोन्मुख राष्ट्रहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या हो भन्नुभयो । निम्न तथा मध्यम आय भएका मुलुकहरूका हरेक पाँच जनामा एक जनामा मानसिक रोगको समस्या रहेको उल्लेख गर्नुहँुदै उप—प्रधानमन्त्री माननीय श्री यादवले दक्षिण एसिया क्षेत्रमा रहेको कूल जनसङ्ख्याको बिस प्रतिशत जनता मानसिक रोगबाट ग्रसित छभन्नुभयो ।
नेपाल पनि मानसिक रोगको समस्याबाट अलग छैन भन्नुहुँदै उप—प्रधानमन्त्री श्री यादवले अशिक्षा, बेरोजगारी, बसाई सराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरिबीको कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ भन्ने विचार व्यक्त गर्नुभयो ।

नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा अङ्गीकार गरेको उल्लेख गर्नुहँुदै उप—प्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसङ्ख्या मन्त्री श्री यादवले नेपाल सरकार न्यूनतम व्ययमा सरल र सहज पहँुचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको र मानसिक रोगको उपचारको सरलीकरणमा विशेष ध्यान दिइएको बताउनु भयो ।

विश्व सम्मेलनको पहिलो दिन उप—प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री श्री यादवले सम्मेलन आयोजक समितिका अध्यक्ष श्री Tim Kendall सँग शिष्टाचार भेट गर्नु भई मानसिक रोगको निदानमा द्धिपक्षीय सहयोग सम्बन्धमा वार्ता गर्नुभयो । उप—प्रधानमन्त्री श्री यादव आज -१० अक्टोबर २०१८_ संयुक्त अधिराज्यका प्रधानमन्त्री सम्माननीय Theresa May ले १० डाउनिङस्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा आयोजना गर्नुभएको स्वागत समारोहमा समेत सरिक हुनुभयो ।

माननीय उप—प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री श्री यादवज्यूको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा संयुक्त अधिराज्यकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, मानसिक स्वास्थ्य विज्ञ डा.रवीन्द्र ठाकुर, स्वकीय सह—सचिव श्री अमरेन्द्र यादव र उप—सचिव श्री भवनाथ खतिवडा रहनुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू