अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

बाल्टिमोरमा तेस्रो बाना सडक महोत्सव सफलता पूर्वक सम्पन्न

विजय थापा २०७५ असोज २३ गते २१:०१ मा प्रकाशित

अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको स्थापित गैर मुनाफा नेपाली सामाजिक संस्था स्थित दि बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) को तेस्रो सडक महोत्सव सफलता पूर्वक सम्पन्न भएको छ । 

बानाले सन् २०१५ देखि नेपालको कला, संस्कृति र नेपालको प्रवर्धन गर्ने हेतुले आयोजना गर्दै आएको उक्त सडक महोत्सवमा डिसी महानगर क्षेत्रमा स्थापित क्रियाशील विभिन्न सङ्घ/संस्थाहरूको सहकार्य तथा सहयोगमा २०१८ को महोत्सवलाई बिदा गरेको छ ।

बाल्टिमोरमा छाता सङ्गठनको रूपमा रहेको बानाले यस भेकमा हुने कार्यक्रमलाई सबै सङ्घ/संस्थालाई समेट्दै र सहकार्य गर्दै संयुक्त रूपमा कार्य गर्न थालनी गरी सकेको छ । विगतमा वनभोज कार्यक्रम पनि संयुक्त रूपमा गरेको थियो भने आगामी अक्टोबर तेस्रो हप्तामा हुने स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रममा पनि संयुक्त रूपमा गरिने जमर्कोले समुदायमा बाल्टिमोरले अमेरिकाका सबै राज्यलाई एकताको सन्देश दिएको छ । 

नेपाली पहिचानलाई विश्वमा चिनाउने समेत मुख्य ध्येयले सडक उत्सव गरिएको हो । महोत्सवमा विशेष गरी मम, नेवा समुदायका छोइला, बारा, यमरी तथा अन्य नेपाली परिकारका खानाको बिक्री प्रदर्शन साथै झाँकी, विभिन्न जातजातिका महिला तथा पुरुषले आ-आफ्नो भेष भूषा लगाएर महोत्सव स्थल परिक्रमा गरेका थिए । महोत्सवमा बाल्टिमोरको एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो विद्यालयको तर्फबाट विशेष प्रदर्शन गरिएको थियो ।

झाकी प्रदर्शनको साथै नेपालका मौलिक सांस्कृतिक लाखे नृत्य तथा अन्य विशेष नृत्य समेत प्रस्तुत गरिएको थियो । महोत्सवमा औपचारिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम तथा सडकमा नेपाली खाना तथा हस्तकलाका सामाग्रीहरू सजाएर राखिएका थिए । महोत्सवमा कुमार श्रेष्ठले सन् २००३ देखि आफूले खिचेका उत्कृष्ट तस्बिर तथा हात्ती पोलो खेल्ने एक मात्र नेपाली मूलकी केमिका भण्डारी समेतले नेपालको बर्दिया, चितवनमा सहभागी भई विजेता भएका तस्बिरहरू समेत प्रदर्शनमा राखिएको थियो । 

महोत्सवमा प्रमुख अतिथि राजदूत डा. अर्जुन कुमार कार्की, महा बाणिज्यदुत प्रेम राजा महत, बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य, बाल्टिमोर काउन्टीका परिषद् सभापति डेविड मार्क्स, स्टेट डेलिगेट क्रिस्चियन मिले लगायतले शुभकामना, कार्यक्रम बारेमा आफ्ना भनाई राख्नु भएको थियो ।

बानाका सभापति अनु श्रेष्ठ वन्तले प्रमुख अतिथि, विशेष अतिथि, प्रायोजक, समुदाय तथा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिँदै बानाले खरिद गरेको सामुदायिक भवनमा सहयोग गर्न समेत आग्रह गर्नु भयो । 

कार्यक्रममा शुभकामना मन्तव्य वरिष्ठ उपाध्यक्ष सुबोध पन्तले गर्नु भएको थियो भने संस्थाका महा सचिव हिरा लाल गुरुङ तथा अतिथिहरूका लागि जोली अमात्यले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम पश्चात् सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरू, स्थानीय कलाकार, अमेरिकामा जन्मेका दोस्रो पुस्ताका बालबालिकाले प्रस्तुति गरेका थिए । सांस्कृतिक कार्यक्रमको प्रस्तोता नायिका ऋचा घिमिरेले गर्नु भएको थियो ।

तस्बिर सौजन्य: नाम्लो तथा स्पेसल मोमेन्ट स्टुडियो

 

प्रतिक्रिया