अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

नेपाल तथा क्यानडा बिच लगानी तथा व्यवसाय प्रवर्द्धनमा जोड

बिआरटीनेपाल २०७५ असोज २३ गते १५:५६ मा प्रकाशित

नेपाल सरकार परराष्ट्र मन्त्रालयको निमन्त्रणामा नेपाल भ्रमणमा आएको क्यानेडियन सांसदका माननीय सांसद ब्राड ट्रोस्ट -Mr. Brad Trost, Member of Canadian Parliament) को नेतृत्वमा रहेको उच्चस्तरीय पा“च सदस्यीय प्रतिनिधिमण्डल र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू बिच आज महासङ्घ सचिवालयमा नेपाल–क्यानडा आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी, प्रविधि आदान–प्रदान सम्भाव्यता खोजी लगायतका विषयमा बृहत् छलफल भयो । 

नेपाली निर्यातकर्ताहरू र क्यानेडियन उद्यमी व्यवसायीहरूको महत्त्वपूर्ण सहभागिता रहेको बैठकमा विषेशगरी क्यानेडियन प्रतिनिधिमण्डलको तर्फबाट नेपाली उद्योगी व्यवसायी तथा लगानीकर्ताहरूले नेपाल क्यानडा बिचको आर्थिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षण गर्न प्रविधिगत रूपमा नेपाली उद्योगी व्यवसायीहरूलाई दक्ष बनाउन क्यानडाबाट के–कस्तो सहयोगको अपेक्षा गरिएको छ, सो सम्बन्धमा छलफल गरियो । सो क्रममा उद्योगी व्यवसायीहरूले विशेष गरी नेपालमा व्यावसायिक कृषि, हस्तकलाका सामाग्री, औषधी, पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा क्यानडाबाट लगानी, प्रविधि, बजार प्रवर्द्धन लगायतका क्षेत्रमा दरिलो सहयोग खोजेको स्पष्ट पारेका थिए ।

साथै, उद्यमी व्यवसायीहरूले नेपालमा लगानीका लागि क्यानेडियन सरकारको नीतिका बारेमा जिज्ञासा राखेका थिए । सो जिज्ञासा माथि क्यानेडियन प्रतिनिधिमण्डलका सांसद माननीय ट्रोस्टले क्यानेडियन लगानी आकर्षणका लागि सरकार–सरकार, जनस्तर–जनस्तर, निजी क्षेत्र–निजी क्षेत्र बिच सम्पर्क विस्तार गर्नुपर्ने, क्यानडास्थित गैर आवासीय नेपाली संघसंग सम्पर्क विस्तार गर्नुपर्ने सुझाव दिनुभयो । साथै, उहाँ“ले क्यानडियन सरकारले विशेष गरी नेपालको साना तथा मझौला उद्यम व्यवसायलाई प्रविधिगत रूपमा सु–सज्जित गर्न सघाउने विश्वास दिलाउनुभयो ।

सो अवसरमा प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुन“दै महासङ्घका अध्यक्ष राणाले नेपालमा यतिखेर स्थिर सरकार रहेको र लगानीको वातावरण समेत अत्यन्त राम्रो भएकोले क्यानेडियन उच्च प्रतिनिधिमण्डललाई नेपालमा लगानी विस्तारका लागि सहयोग गर्न आग्रह गर्नुभयो । अध्यक्ष राणाले सम्माननीय प्रधानमन्त्रीज्यूबाट हालै सम्पन्न संयुक्त राष्ट्र सङ्घको भ्रमणका क्रममा क्यानेडियन प्रधानमन्त्रीसँग भएको भेटघाट तथा नेपाल क्यानडा बिचको आपसी सहयोग आदान प्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर कार्यक्रमको स्मरण गराउनुहुन“दै सो सम्झौताबाट क्यानडा–नेपाल बिचको आर्थिक सहकार्यमा ढोका खुल्ने विश्वास प्रकट गर्नुभयो ।

महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समिति सदस्यहरू, उद्यमी व्यवसायीहरू लगायतका उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले नेपाल र क्यानडा बिचको व्यावसायिक सम्बन्ध विस्तार गर्न भेटवार्ता एक राम्रो माध्यम बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । साथै उपाध्यक्ष श्रेष्ठले नेपालमा क्यानडियन प्रविधि भित्राउन पहलका लागि समेत आग्रह गर्नुभयो ।

सो भेटवार्तामा महासङ्घका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले नेपाल–क्यानडा बिचको आर्थिक व्यापार साथै लगानीका क्षेत्रहरू सम्बन्धी प्रस्तुति दिनुभएको थियो । उक्त प्रस्तुतिमा नेपालमा हाल विभिन्न ४५ वटा परियोजनाहरूमा क्यानेडियन संयुक्त लगानी रहेको स्पष्ट गरियो साथै नेपाल–क्यानडा बिचको आर्थिक सम्बन्धलाई विस्तार गर्नुपर्नेमा समेत जोड दिइयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू