नेपाली कांग्रेसले असोज २५ गतेका लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुने कि नहुने भन्ने बारेमा संस्थापन इतर समूहभित्र विवाद दखिएको छ । । वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा बसेको संस्थापन इतर समूहको बैठकमा २५ गतेको बैठकमा उपस्थित हुने कि नहुने भन्ने बारेमा मत बाझिएको हो ।
कांग्रेसले भ्रातृ संगठन नेविसंघको विधान संशोधनका लागि थप छलफल र निर्णय गर्न असोज २५ गते बैठक आह्वान गरेको छ । सोही बैठकमा प्रस्तुत हुने बारेमा छलफल गर्न पौडेल निवासमा बसेको आन्तरिक बैठकमा नेताहरुबीच मतैक्यता नदेखिएको श्रोतले जनाएको छ ।
बैठकमा सहभागी नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिँह केसी, प्रकाशमान सिँहले २५ गतेका लागि बोलाइएको बैठक बहिष्कार गर्नुपर्ने धारणा राख्नुभएको वुझिएको छ । तर वरिष्ठ नेता पौडेल भने केन्द्रीय कार्यसमितिको बैठक बहिष्कारको विषयमा ‘दोधारमा’ देखिएको समाचारमा उल्लेख छ ।
भ्रातृ संगठन नेविसंघमा संस्थापन पक्षले बहुमतका आधारमा निर्णय गरेपछि असन्तुष्ट पौडेल र सिटौला समूह आगामी रणनीति तय गर्न आन्तरिक छलफलमा जुटेको छ । बैठकमा पार्टीभित्र देखिएका प्रवृतिहरुको विश्लेषण गरिएको वताईएको छ ।