नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले तल्ला कमिटीहरुको एकीकरणको प्रक्रिया सुरु गर्नेबारे छलफल गरेको नेता झलनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले स्थायी कमिटीको बैठक बोलाउने एजेण्डा तय गरेको छ । बैठक बुधबार ८ बजे बस्ने गरी स्थगित भएको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पछिल्ला विदेश भ्रमणबारे जानकारी गराउनुभएको थियो । बैठकमा प्रदेश नेतृत्व चयनबारे अध्यक्ष द्वयले ब्रिफिङ गर्नुभएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।
नेकपाको आइतबार बस्ने भनेको सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्थताको कारणले आजको लागि सारिएको थियो । पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेका बेला नेकपाको बैठक बसेको हो ।