अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

एनआरएनएद्वारा डन्डी-बियो खेलको आयोजना, अध्यक्ष भट्टद्वारा खेलको उद्घाटन

बिआरटीनेपाल २०७५ असोज २१ गते ९:४३ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पहिलो पटक आयोजना गरेको प्रेसिडेन्शियल अवार्ड २०१८ अन्तर्गत आयोजित अन्तर कलेज स्तरीय डन्डीबियो प्रतियोगिता राजधानीमा सुरु भएको छ । खेलको सङ्घका अध्यक्ष भवन भट्ट तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले आज बिहान संयुक्त रूपमा उद्घाटन गर्नुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै गैरआवासीय नेपाली सङ्घका अन्तर्राष्ट्रिय युवा संयोजक सुदन थापाले प्रतियोगिता मार्फत नेपालमा डन्डीबियो खेलको प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो । उद्घाटन समारोहको अध्यक्षता गर्दै सङ्घका अध्यक्ष भवन भट्टले परिषद्को निर्णय स्वागत योग्य रहेको भन्दै सङ्घको टोली आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने र नेपाली खेलकुदको विकासमा गैरआवासीय नेपाली आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताउनु भएको छ । सङ्घका प्रवक्ता भूषण घिमिरेले प्रतियोगिताले गैरआवासीय नेपालीहरूलाई आफ्नो बाल्यकाल सम्झना आएको बताउनुभयो । नेपाल डन्डीबियो सङ्घका कार्यवाहक अध्यक्ष मोतीराम फुयाँलले गैरआवासीय नेपाली सङ्घले डन्डीबियो खेललाई सम्झिएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस खेललाई जोगाइराख्न र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्न आग्रह गर्नुभयो । 

परिषद्का सदस्य सचिव केशव कुमार विष्टले आगामी आठौँ राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली सङ्घको टोलीलाई सहभागी गराउने सम्बन्धमा औपचारिक निर्णय भएको जानकारी गराउनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घको भाषा तथा साहित्य समिति संयोजक श्री गोविन्द प्रसाद गौतम, गैरआवासीय नेपाली सङ्घ मध्य पूर्व क्षेत्रका उप क्षेत्रीय संयोजक प्रवीण गुरुङ, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य मनोज गोर्खाली लगायत नेपाल डन्डीबियो सङ्घका प्रतिनिधिहरूको सहभागिता थियो । 

कुल १६ कलेज सहभागी खेलमा ६ कलेज अन्तिम प्रतिस्पर्धामा छनौट भएका छन् । रिम्स कलेज, ग्रिन फिल्ड कलेज, एजीएम कलेज, न्युटन कलेज, नाज्रेथ कलेज तथा कुटुम्ब कलेज यो खेलमा सहभागी छन् । नेपाल डन्डीबियो सङ्घको प्राविधिक संयोजनमा भएको खेलमा प्रथम हुने टिमले पचास हजार, द्वितीय हुनेले तीस हजार तथा तृतीय हुनेले बिस हजार नगद प्राप्त गर्नुहुनेछ । प्रतियोगिता अहिले जारी छ । गैरआवासीय नेपाली दिवसका अवसरका सङ्घले साताव्यापी कार्यक्रम आयोजना गरिरहेको छ । 

प्रतिक्रिया