नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा गंगाप्रसाद उप्रेती नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले गंगा प्रसाद उप्रेतीलाई आगामी चार वर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त गर्नुभएको हो । यसैगरी प्रतिष्ठानको सदस्यमा जगत प्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ ।
नवनियुक्त कुलपति उप्रेतीलाई प्रधानमन्त्री ओलीले आजै सिंहदरबार आयोजित एक विशेष कार्यक्रममा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । लगत्तै, सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।
सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उज्यालो वनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाली वाङ्मयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।