अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

स्वतन्त्र मधेशका अभियन्ता डा. सिके राउत रौतहटको गौरबाट पक्राउ

बिआरटीनेपाल २०७५ असोज २१ गते ९:३९ मा प्रकाशित

तराई मधेसमा स्वतन्त्र मधेशको अभियान सहित राष्ट्रियता विरोधी गतिविधि सञ्चालन गर्दै आएका स्वतन्त्र मधेस गठबन्धनका अभियन्ता डा. सीके राउत रौतहटको गौरबाट पक्राउ पर्नुभएको छ । राउतसंगै अन्य २ जना कार्यकर्ता पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले जानकारी दिनुभएको छ । ढकालले राउतलाई राज्य विप्लवविरुद्धको कसुरमा आइतबार अपरान्ह ४ बजे गौरबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

राउतलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । जिल्ला अदालत रौतहटमा तारेख बुझाउन जाने क्रममा राउत पक्राउ परेको बताइएको छ । प्रहरीले राउतलाई राज्यविरुद्धको कसुर अन्र्तगत दफा ४९ को उपदफा ४ बमोजिम पक्राउ गरेको जनाएको छ । उक्त दफामा सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता उपर खलल गर्न नहुने उल्लेख छ ।

यसैवीच, सिरहा प्रहरीले जिल्ला प्रशासन कार्यालय परिसरबाट स्वतन्त्र मधेश गठबन्धनका १० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गठबन्धनका राममनोहर यादवको प्रहरी हिरासतमा भएको मृत्युको घटनाको छानबिन गर्न मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र लिएर गएका गठबन्धनका कार्यकर्ताहरु पक्राउ परेका हुन् ।

प्रमुख जिल्ला अधिकारीले गठबन्धनका कार्यकर्ताहरुले लिएर गएको ज्ञापन–पत्र बुझ्न अस्वीकार गरेपछि हुलदङ्गा गरेको आरोपमा एक महिलासहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ पर्नेहरुमा सतिला यादव, मनिष यादव, बालेश्वर यादव, शुभलाल महतो, राजकुमार यादव, जितन यादव, ज्ञान कामती, पप्पु यादव, राजकुमार यादव र रामसुगन यादव रहेको रहेका छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरेर मुद्दा चलाइने प्रहरीले जनाएको छ । तारेखका लागि सिरहा जिल्ला अदालत पुगेका गठबन्धनका संयोजक राउतसँगै सिरहा पुगेका कार्यकर्ताहरु राउतले तारेख बुझेर फर्किएपछि ज्ञापन–पत्र बुझाउन गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू