अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

इन्डोनेसियामा भूकम्प–सुनामीमा मर्नेको संख्या १५७१ पुग्यो

बिआरटीनेपाल २०७५ असोज २० गते ९:४८ मा प्रकाशित

इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको संख्या १ हजार ५७१ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु सहरका १ हजारभन्दा बढी घर सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिनुभएको छ । भूकम्पमा फसेका व्यक्तिको जीवितै उद्धार गर्ने सम्भावना अब कम हुँदै गएको मानवीय सहायतामा जुटेको संयुक्त राष्ट्रसंघको भनाइ छ ।

इन्डोनेसियाको तटीय सहर पालुमा गत शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पलगत्तै आएको सुनामीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ५७१ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायले जनाएको छ । भूकम्पबाट तटीय सहर पालु सबैभन्दा बढी प्रभावित भएको छ । भूकम्पका कारण करिब २ लाख व्यक्तिलाई मानवीय सहयोग आवश्यक परेको र त्यसमा हजारौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसै वर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्निच्यूडको भूकम्प र सुनामीका कारण १ लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू