विश्वमा बार्षिक १ करोड १० लाख भन्दा बढि मानिस आगोमा जलेर घाइते हुने गरेको एक तथ्याङ्कले देखाएको छ । जस मध्ये ३ लाख २० हजारको मृत्यु हुने गरेको छ । पोखरामा शनिबार लायन्स क्लब रिजन टेन र जोन ट्वान्टीले आयोजना गरेको ‘बर्न अवरनेस तथा स्किन बैंक’ कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा बोल्दै किर्तिपुर अस्पतालका डा. हेमन्तध्वज जोशीले अहिले विश्वमा आगोले पोलेर घाइते हुनेको संख्या विकराल बन्दै गएको बताउनुभयो । जोशीका अनुसार नेपालमा बार्षिक ५६ हजार मानिस आगोले पोलेर घाइते हुने गरेकोमा २२ सय मानिसको मृत्यु हुने गरेको छ ।
उहाँले आगो लाग्न र आगोले पोलिनबाट जोगिनुपर्ने बताउँदै आगोले पोलिहाले बगेको पानीमा पोलेको भागलाई थाप्नुपर्ने बताउनुभयो । पोलेको ठाउँमा आइस, गोलभेडा, टुथपेष्ट लगायतका वस्तु लगाउन नुहने भन्दै जोशीले ३० मिनेटभित्र अस्पताल जानुपर्ने सुझाव समेत दिनुभयो ।
आइस, गोलभेडा, टुथपेष्ट आदिको प्रयोगले पोलेको ठाउँ बाफिएर घाउँ खाल्टो पर्ने र उपचारमा समेत कठिनाई हुने उहाँको भनाई छ । पछिल्लो समय छालादान अभियान शुरु भएको भन्दै जोशीले मान्छेले आँखादान जस्तै छालादान गर्न सक्ने जानकारी दिनुभयो । काठमाण्डौंको किर्तिपुर अस्पतालमा अहिलेसम्म ६ जनाको छाला निकालेर अन्य घाइतेहरुको उपचार गरेको अनुभव समेत जोशीले सुनाउनुभयो ।