अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४९ | Colorodo: 12:04

कङ्गोका मुकवेगे र याजिदी अभियन्ता मुरादलाई नोबेल शान्ति पुरस्कार

बिआरटीनेपाल २०७५ असोज १९ गते ९:४४ मा प्रकाशित

प्रजातान्त्रिक गणतन्त्र कङ्गोका डा. डेनिस मुकवेगे र याजिदी अभियन्ता नदिया मुरादलाई संयुक्त रुपमा सन् २०१८ को नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । द्वन्द्वको परिस्थितिमा यौनहिंसा विरुद्ध उत्कृष्ट कार्य गरेको भन्दै मुकवेगे र मुरादलाइ शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

नर्वेको ओस्लोमा नोबेल समितिका अध्यक्षा बेरिट रेइस–एन्डरसनले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो । बेरिटका अनुसार दुवै जनाले युद्ध र सशस्त्र द्वन्द्वमा यौनहिंसालाई हतियारका रुपमा प्रयोग गर्ने प्रवृत्ति अन्त्यका लागि प्रयत्न गरेकाले यस वर्ष नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो ।

पुरस्कृत व्यक्तित्वमध्ये एक जना चिकित्सक र अर्को बलात्कार पीडित युवती रहेका छन् । दुवैले विश्वकै यौनहिंसा विरुद्ध सङ्घर्ष गर्नुभएको छ र यसमा धेरैले योगदान गरेपनि यो पुरस्कारले त्यसैको प्रतिकात्मक प्रतिनिधित्व गर्ने बताइएको छ । पुरस्कृत व्यक्तित्व ६३ वर्षीय मुकवेगेले दुई दशकदेखि युद्धले क्षतविक्षत प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यौनहिंसा र बलात्कारजस्ता अमानवीय कार्यबाट पीडित महिलाको उपचार र समाजमा पुनःस्थापित गराउन लगातार कार्य गरिरहनु भएको छ ।
कङ्गोको दक्षिण किभुमा सन् १९९९ मा पान्जी अस्पताल स्थापना गरी उहाँले बलात्कार र यौन शोषणमा परेका दशौं हजार पीडित महिलाको उपचार गर्नुभएको छ ।

अर्कोतर्फ बलात्कार पीडित इराकी २५ वर्षीया मुरादलाई इस्लामिक स्टेटका लडाकूले सन् २०१४ मा अपहरण गरी बलात्कार गरेका थिए । लडाकूको पञ्जाबाट फुत्किनुअघि उहाँलाई तीन महिनासम्म यौनदासी बनाइएको थियो । कुर्द–भाषी अल्पसंख्यक याजिदी समुदायका हजारौं महिला र बालिकालाई लडाकूले अपहरण गरी बलात्कार र चरम सजाय दिएका थिए । राष्ट्रसङ्घले यो घटनालाई जातीय नरसंहारको संज्ञा दिएको छ । याजिदी समुदायको सुरक्षाका सन्दर्भमा विश्वभर चिनिनु भएकी मुरादलाई मानव बेखबिखन पीडितका लागि राष्ट्रसङ्घीय राजदूतको रुपमा समेत नियुक्त गरिएको थियो । मुकवेगे र मुरादले स्वर्ण पदकसहित संयुक्तरुपमा १० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नु हुनेछ । उक्त पुरस्कार डिसेम्बर १० मा ओस्लोमा एक समारोहबीच प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू