अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

आइजिपी हटाउन भन्दै ज्ञापनपत्र बुझाउने नविना लामा र रञ्जितकाे यस्ताे छ स्वार्थ

बिआरटीनेपाल २०७५ असोज १८ गते १९:१३ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ। आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन्।

तत्कालीन एमाले निकट अखिल अध्यक्ष नवीना लामा र तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमा भेट गरी आइजिपी खनाललाई हटाउन दबाब दिएका हुन्। सांसदसमेत रहेकी लामा र अध्यक्ष तामाङले विगत केही समयदेखि आइजीपी खनाललाई हटाउनुपर्ने हल्ला चलाउँदै आएका छन्।

लामा र तामाङले प्रहरी प्रमुख खनाललाई हटाउन माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका थिए । ‘जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउन असक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गरियोस्’, ज्ञापनपत्रमा उल्लेख छ ।

संगठनमै छलफल नगरी लामा र तामाङले ज्ञापन बुझाएकाेमा असन्तुष्टि छ ।  ‘कसैको व्यक्तिगत स्वार्थ होला, संगठनको निर्णय र धारणा होइन’, तत्कालीन एमाले निकट अखिलका महासचिव ऐन महरले भने, ‘यही सरकारले नियुक्ति गरेको कर्मचारी हटाउनु भनेको सरकारको विकल्प खोज्नु हो।’

यस्ताे छ कारण

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार, काठमाडौं उपत्यकामा हुने गरेका शृंखलाबद्ध अपराधका घटनामा संलग्न सत्यमान लामालाई महानगरीय परिसर काठमाडाैँले पक्राउ गरेपछि उनलाई छुटाउन सांसद नवीना लामा परिसर पुगेकी थिइन्। परिसरका तत्कालीन प्रमुख एसएसपी विश्वराज पोखरेलले सत्यमानलाई जिल्ला प्रशासन कार्यालयमा पठाएपछि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी केदारप्रसाद शर्माले सांसद लामाकै जिल्लामा लगाएर सत्यमानलाई छाडिदिएका थिए। विगतमा रक्तचन्दन तस्करी संलग्न सत्यमान पछिल्लो समय बुद्धचित्तको अवैध कारोबार र गुण्डागर्दीमा संलग्न थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट छुटेपछि सत्यमानलाई महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले अवैध डलर कारोबार आरोपमा पक्राउ गरे। सत्यमान पक्राउ परेपछि नवीनाले आइजिपी खनाललाई फोन गरेर छोडिदिन आग्रह गरेकी थिइन्। तर महाशाखाले नै सत्यमानलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि समय लिएपछि उनी आइजिपी खनालसँग रिसाएकी थिइन। सत्यमान १७ दिनको प्रहरी हिरासतपछि जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका थिए।

सत्यमानले काठमाडौं महाराजगन्ज चुनदेवी क्षेत्रमा हप्ता असुली गर्ने, गुण्डागर्दी गर्ने, म्यानपावरका सञ्चालकलाई धम्क्याउने कार्यमा संलग्न रहँदै आएको प्रहरीको आरोप छ। त्यस्तै उनीमाथि काभ्रेका ग्रामीण बस्तीमा बुद्धचित्तको रूख कब्जा गर्ने र नदिनेहरूलाई मार्ने धम्की दिने गरेको आरोप छ। अखिल अध्यक्ष लामाले विगतदेखि नै सत्यमानको संंरक्षण गर्दै आएकी छन् भने अहिले अर्का विद्यार्थी नेता तामाङसमेत त्यसमा सहभागी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू