अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

सरकारबाट समर्थन फिर्ता लिने राजपाको अल्टिमेटम-सरकारलाई ज्ञापनपत्र बुझाउँदै

बिआरटीनेपाल २०७५ असोज १६ गते ९:२५ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटमसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने भएको छ । संघीय संसदको दोस्रो अधिवेशन अन्त्य भएपनि संविधान संशोधन लगायतका मुद्धामा सरकारले कुनै चासो नदिएको भन्दै राजापाले ज्ञापनपत्र वुझाउने तयारी गरेको हो । आफ्नो माग प्रति सरकार उदासिन भएपछि राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बसेका थियो । बैठकमा वर्तमान परिस्थितिमा सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेको नेताहरुको निश्कर्ष रहेको छ ।

यद्यपि, अन्तिम पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित रुपमै जानकारी गराउने सहमति नेताहरु बीच भएको श्रोतले जनाएको छ । त्यसै अनुसार नै ज्ञापनपत्र बुझाउने तयारी भइरहेको बैठकमा सहभागी एकजना अध्यक्ष मण्डलका सदस्यले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका तथा कोस्टारिकाको भ्रमणमा देशबाहिर हुनुहुन्छ । उहाँ असोज १९ गते स्वदेश फर्किदै हुनुहुन्छ । प्रधानमन्त्री देशबाहिर भएका कारणले ज्ञापनपत्र बुझाउन ढिलाई भएपनि उहाँ फर्किने बित्तिकै बुझाउने राजपाले जनाएको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि राजपा नेपालले यसअघि तीनपटक ज्ञापनपत्र बुझाई सकेको छ । यो राजपाको चौँथो ज्ञापनपत्र हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू