अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

विश्व लगानीकर्ता सप्ताह : नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै

बिआरटीनेपाल २०७५ असोज १५ गते ९:३७ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराउने विविध कार्यक्रमको आयोजना गरी आज देखि विश्व लगानीकर्ता सप्ताह मनाएको छ । आज देखि २१ गतेसम्म मनाइने सो सप्ताहअन्तर्गत पूँजीबजारसम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।

कार्यक्रमको पहिलो दिन सोमवार विहान ७ देखि ९ बजेसम्म धितोपत्र तथा वस्तु विनिमयसम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । प्रभातफेरी कार्यक्रम काठमाडौंको भद्रकालीबाट शुरू भई प्रदर्शनी मार्ग, भृकुटी मण्डपमा पुगेर टुङ्गिएको थियो ।

असोज १७ गते पम्प्लेट प्रकाशन तथा वितरण, बजारको विकास तथा विस्तारका लागि विगतका वर्षहरूमा भएका पहलहरू पत्रपत्रिकामा प्रकाशन, सर्वसाधारण लगानीकर्ता प्रशिक्षण कार्यक्रम र बजार सहभागीहरूसमेतको सहभागितामा प्रत्येक तीन महीनामा लगानीकर्ताहरूसँग हुने अन्तरक्रिया कार्यक्रम तय भएको छ ।

बोर्डले असोज १८ गते नियामक निकाय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका उच्चपदस्थ कर्मचारी र धितोपत्र व्यवसायी, लगानीकर्ता तथा पूँजीबजार विज्ञहरूलाई सहभागी गराई टेलिभिजनमार्पmत अन्तर्वार्ता तथा अन्तरक्रिया कार्यक्रम प्रसारण गर्ने कार्यक्रम छ । त्यस्तै असोज २० गते लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धिका लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी पाक्षिक रेडियो कार्यक्रम सञ्चालनको शुरूवात गरिने छ ।

असोज १९ र २० गते प्रदेश नम्बर १ को विराटनगरमा प्रथम प्रादेशिक पूँजीबजार प्रदर्शनी सञ्चालन गर्नुका साथै प्रदर्शनीमा धितोपत्र बजार औजार तथा सेवासम्बन्धी कम्तीमा १ सय स्टलमार्पmत धितोपत्र बजारका विविध पक्षहरूबारे सर्वसाधारणलाई जानकारी दिने र सम्बन्धित जिज्ञासाको समाधान गर्ने र एक नेपाली एक डिम्याट खाता अभियानको शुभारम्भ गर्ने कार्यक्रम भएको बताइएको छ ।

सन् २०१६ जुलाईमा नेपाल धितोपत्र बोर्ड धितोपत्र बजार नियामक निकायको अन्तरराष्ट्रिय संस्था (आईओएससीओ( को एशोसिएट सदस्य भएको थियो । त्यसपछि बोर्डले उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आएको छ । सप्ताहव्यापी कार्यक्रमले आम लगानीकर्ताको सशक्तीकरण हुने र यसबाट बजारको नियमन, सुधार तथा विकास हुनुका साथै देशमा पूँजीबजारसम्बन्धी गतिविधिहरूमा अझ व्यापकता आउने बोर्डको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू