अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 01:35

चाडपर्वलाई लक्षित गर्दै सरकारी सुपथ मूल्यका पसल सञ्चालनमा

बिआरटीनेपाल २०७५ असोज १३ गते ९:३७ मा प्रकाशित

दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले देशका विभिन्न भागमा सुपथ मूल्यका पसल संचालनमा ल्याएको छ । कात्तिक २७ गतेसम्म संचालन हुने यस्ता पसलमा दैनिक उपभोग्य बस्तु सस्तो पर्ने र सर्वसाधारणलाई राहत पुग्ने सरकारले दावी गरेको छ । खाद्य संस्थान तथा नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका उत्पादन तथा व्यवसायिक उपभोग्य बस्तुहरु सहुलियत पसलमार्फत बिक्री हुनेछ ।

सहुलियत पसलमा दाल, चामल उद्योग तथा बिक्रेताले ३ प्रतिशत छुट दिएका छन् । त्यस्तै तेल र घ्यु उद्योगले बजार मूल्यभन्दा प्रतिलिटर ३ रुपैयाँ छुट दिएका छन् । आयातित तेलमा प्रति ५ लिटरमा १५० रुपैयाँ छुट दिईने छ । सुपथ मूल्यको पसलमा चिनी प्रतिकेजी ७० रूपैयाँमा विक्री गरिने छ भने सहकारीहरुले उत्पादन गरेको मसलामा १० रुपैयाँ छुट दिइएको छ ।

सहुलियत पसलमा सोना मन्सुली चामल प्रतिकेजी ४० , जिरा मसिनो चामल प्रतिकेजी ५५, बास्मति चामल प्रतिकेजी ८१ रुपैयाँ, गोरखनाथ चामल ३८, जापनीज चामल ७५ रुपैयाँ तोकिएको छ । यसैगरी, जुम्ली सिमी १२०, तिते फापर ७० रूपैयाँमा किन्न पाईने छ । नुन प्रतिकेजी १८ रुपैयाँ, घ्यू प्रतिलिटर ८५० रुपैयाँ, पनिर प्रतिकेजी ६१० रुपैयाँमा विक्री गर्ने जनाईएको छ ।

साल्ट ट्रेडिङले आफ्ना व्यापारिक वस्तुमध्ये नुन र चिनी काठमाडौँमा ९ वटा स्टल र ३ वटा घुम्ती पसल र काठमाडौँ बाहिर रहेको डिपो र कार्यालय गरी २४ स्थानबाट बिक्रि वितरण गर्नेछ । साल्ट ट्रेडिङको उपत्यकाभित्र र बाहिर गरेर ३६ वटा बिक्रि बितरण केन्द्रहरु रहनेछन् ।

 

प्रतिक्रिया