अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

असोज १५ र १६ गते देशभरका सामूदायिक विद्यालय बन्द गर्ने शिक्षकहरुको चेतावनी

बिआरटीनेपाल २०७५ असोज १३ गते ९:२९ मा प्रकाशित

संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले सर्वोच्च अदालतले गरेको फैसला सरकारले कार्यान्वयन नगरेको विरोधमा यही असोज १५ र १६ गते देशव्यापी रुपमा सामूदायिक विद्यालयहरु बन्द गर्ने चेतावनी दिएको छ । शनिबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाई झैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलाइदिन सरकारसँग माग गदै यस्तो चेतावनी दिएको हो ।

समितिले आन्दोलन वा विविध कारणले आन्तरिक परीक्षाबाट बञ्चित भएका अस्थायी शिक्षकहरुलाई पुनः परीक्षा दिन पाउने अवसर दिलाउनुपर्ने माग पनि गरेको छ । समितिले यति गर्दागर्दै पनि कोही शिक्षक विस्थापन हुने अवस्था देखिएमा अर्को विद्यालय, तह वा राहत कोटामा पुनस्र्थापना गर्नुपर्ने माग अघि सारेको छ ।

त्यस्तै सुविधाको फारम भरेका अस्थायी शिक्षकहरुलाई दिईने भनिएको उपदान रकम औषधोपचारको खर्चसहित एकमुष्ट प्रदान गर्न अविलम्ब प्रकृया शुरु गर्नुपर्ने संघर्ष समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आफूहरुले अघि सारेका मागहरु पूरा गर्न अविलम्ब प्रकृया अगाडि नबढाईएमा समितिले पुनः विगतका भन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू