अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 01:06

उत्तम भट्टराईको आहा हिमाल विमोचित

बिआरटीनेपाल २०७५ असोज ११ गते ११:२५ मा प्रकाशित

काठमाडौँ , नियात्राकार उत्तम भट्टराईको नियात्रा सङ्ग्रह ‘आहा हिमाल’ को आज विमोचन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, लेखिका लाक्पा फुटी शेर्पा, नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, कृतिकार उत्तम भट्टराई तथा रोजगार मिडियाका प्रबन्ध निर्देशक उद्धव भट्टराईले उक्त कृति संयुक्त रूपमा विमोचन गरेका थिए ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको हुँदा यो कृतिले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको हुनाले अन्तर्राष्ट्रियस्तरमा यो विशेष कृतिका रूपमा जान सक्ने विचार पोखे ।

कृतिको समीक्षा गर्दै नियात्राकार युवराज नयाँघरेले नेपालका हिमाल र हिमाली संस्कृतिको प्रचार प्रसारमा यो कृतिले अहम् भूमिका खेल्ने धारण व्यक्त गरे ।

लेखिका शेर्पाले ‘आहा हिमाल’ मार्फत नेपालका हिमाल र यसको पर्यटकीय सौन्दर्यको गहिरो चर्चा भएको बताइन् । कार्यकारी निर्देशक ज्ञवालीले लेखक भट्टराईसँग अनुभूतिको अथाह शक्ति रहेको नेपाली पर्यटन र हिमालको जनजीवनको सुन्दर संयोजन रहेको धारण व्यक्त गर्नुभयो । उहाँले विश्व पर्यटन दिवसकै दिन आहा हिमाल विमोचन गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।

यसै गरी रोजगार मिडियाका प्रबन्ध निर्देशक उद्धव भट्टराईले कृतिले नेपाली पर्यटन र यात्रा साहित्यमा ठुलो परिचय दिन सक्ने विचार व्यक्त गरे ।

कृतिका लेखक उत्तम भट्टराईले आफूले नेपालका विभिन्न हिमाली क्षेत्रमा घुम्दाका अनेकौँ अनुभूति मार्फत नेपाली समाज र पर्यटकीय संसारलाई उतार्ने प्रयास गरेको विचार राखेका थिए ।

लेखक भट्टराईको यो पहिलो कृति हो । यस कृति बाहेक लेखकका प्रशस्त फुटकर रचना प्रकाशित भइरहेका छन् । पर्यटन, साहित्य र सञ्चारमा सम्बद्ध भट्टराई सक्रिय सामाजिक अभियन्ता हुन् । उनी अनेक सङ्घ, संस्थामा आबद्ध छन् ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू