३३ किलो सुन र सनम हत्या प्रकरणमा जेल परेका पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा रिहा हुनुभएको छ । बिहिबार उच्च अदालत मोरङका न्यायाधीशद्वय सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले पूर्व डिआइजी निरौलालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । पूर्व डिआइजी निरौलालाई केही महिनाअघि ३३ किलो सुन र सनम हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको थियो । महानगरीय प्रहरी त्रिभुवन विमानस्थलको सुरक्षा कार्यालको प्रमुख हुँदा निरौलाले सुन तस्करी गरेको आरोप लागेको थियो ।
निरौलालाई ३३ किलो सुन प्रकरणसँगै सनम हत्याकाण्डमा संलग्न रहेको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा छानविन समिति गठन भएको थियो । त्यस्तै सुन प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी गत भदौ २९ गते रिहा हुनुभएको थियो । जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै उच्च अदालत, विराटनगरका न्यायधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले एसएसपी लोहनीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।