अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

नेपाल–चीन उर्जा सचिवस्तरीय संयन्त्रको बैठक काठमाडौंमा

बिआरटीनेपाल २०७५ असोज ११ गते ९:२० मा प्रकाशित

नेपाल र चीन बीचको उर्जा सचिवस्तरीय संयन्त्रको बैठक शुक्रबार काठमाडौंमा आयोजना हुँदैछ । नेपाल र चीनबीचको यो संयन्त्रको यो पहिलो बैठक हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत असार महिनामा भएको चीन भ्रमणमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षीबीच उर्जा सहयोग सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही समझदारी अनुसार तयार भएको द्विदेशीय उर्जा संयन्त्रको पहिलो बैठक शुक्रबार काठमाडौंमा आयोजना हुन लागेको हो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार, दुई देशबीच उर्जाका विविध आयाममा सहयोग आदानप्रदानका विषयमा छलफल हुनेछ । नेपालले आगामी दश वर्षमा दश हजार मेगावाट जलविद्युत् उत्पादनको लक्ष्य तय गरेकोमा ठूलो लगानी भित्र्याउन आवश्यक रहेकोमा नेपालले चिनियाँ लगानीलाई प्राथमिकतामा राखेको छ । यसबाहेक गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई पनि छलफलको एजेण्डामा राखिएको छ । यसबाहेक, संखुवासभाबाट तिब्बततर्फ अन्तरदेशीय प्रसारणलाइन निर्माणबारे पनि छलफल हुने घिमिरेले जानकारी दिए । दुई देशका उर्जा सचिवहरुको यो संयन्त्रलाई संयुक्त कार्यानन्वयन संयन्त्र नामाकरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू