अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

जापानमा अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन

बिआरटीनेपाल २०७५ असोज १० गते २३:३९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन असोज १४ र १५ मा जापानको टोकियोमा हुने भएको छ । १५ वर्षअघि नेपालमा सुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले जानकारी दिएका छन् । सम्मेलनलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले संयोजन गरेको छ ।

सम्मेलनमा जापानका चर्चित हाइकु कविहरूले पनि नेपाली कविलाई साथ दिनेछन् । शिनओकुबो स्थित नेपाली मुरा हल (सोलमारी) मा हुने कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अन्तर्राष्ट्रिय साहित्य समाजका वरिष्ठ उपाध्यक्ष एवं हाइजिन प्रकाश पौडेलले जनाएका छन् ।

‘कायक्रमको सम्पूर्ण तयारी भइसकेको छ । नेपालसहित विभिन्न मुलुकका हाइकु लेखकलाई हामीले निम्त्याइसकेका छौँ । त्यसमध्ये कतिपय जापान आइपुग्नु भएको छ ।’ जापान बसेर नेपाली हाइकुलाई प्रवर्द्धन गरिरहेका कार्यक्रम संयोजक प्रकाश पौडेल ‘माइला’ले भने, ‘हाइकुको जन्मस्थल भएका नाताले यसपटकको सम्मेलन जापानमा गर्ने योजना बनेको हो । नेपाली हाइकु लेखकलाई जापानी हाइकु लेखकसँग अनुभव आदान प्रदान गर्न पनि सम्मेलन जापानमा गर्न लागिएको हो ।’

कार्यक्रम नेपाल हाइकु केन्द्र र अन्तर्राष्ट्रिय नेपाल साहित्य समाजको संयुक्त ब्यानरमा हुनेछ । कार्यक्रमको तयारीको लागी प्रकाश पौडेल ’माइला’ संयोजक र दीप पाठक सह संयोजक रहेको मूल आयोजक समिति गठन गरिएको छ । जापानका चर्चित हाइजिन एवं कविहरूको उपस्थिति हुने भएकाले कार्यक्रम सफल पार्न झन्डै एक दर्जन उप समितिहरू गठन गरेर तयारी गरिएको अनेसास जापानका अध्यक्ष समेत रहेका दीप पाठकले बताए ।

‘जापानी हाइजिनहरुलाई नेपाली साहित्यकारको क्रियाशीलता र सक्रियता देखाउन पनि हामीले मेहनत गरिरहेका छौँ ।’ अन्तर्राष्ट्रिय साहित्य समाज जापानका अध्यक्ष दीप पाठकले भने, ‘यसले हामीलाई कार्यक्रम सिर्जनशिल बनाउन सहयोग गरेको छ ।’

पछिल्लो समय नेपालमा हाइकु साहित्य फस्टाउदो रूपमा छ । नेपाल हाइकु केन्द्रको नेतृत्व प्रा. रामकुमार पाडेले गरेका छन् भने हाइकुको जन्मथलो जापानमा बसेर प्रकाश पौडेल ’माइला’ ले अबिछिन्न काम गरी रहेका छन् । 

जापान सम्मेलनको क्रममा झन्डै एक दर्जन नेपाली हाइकु कृतिको विमोचन गरिनेछ भने रामकुमार पाडे र प्रकाश पौडेल ’माइला’ ले अनुसन्धान मूलक कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रमको मुख्य आकर्षणको रूपमा प्रसिद्ध जापानी हाइकु कविहरूको सहभागिता हुनेछ ।

‘नेपाली र जापानी कविहरू बिचको सहकार्य सुरुवात भइसकेको छ । अनेसास जापानका संस्थापक अध्यक्ष डा. कुमार बस्नेतले भन्छन्, ‘सम्यमेलनले जापान–नेपाल साहित्यको वृद्धिमा ठुलो योगदान दिने देखिएको छ ।’

सम्मेलनमा सहभागिता जनाउन नेपालबाट रामकुमार पाँडेको संयोजनमा अश्विनी कोइराला, प्रभा बराल, विजयराज आचार्य, शिरोमणि दवाडी र किरण पौडेल जापान पुगेका छन् भने बेलायतबाट कृष्ण बजगाइको उपस्थिति हुनेछ ।

कार्यक्रममा जापानमा बसोबास गरेर साहित्य सिर्जना गरिरहेका सयौँ लेखक–कविहरूको उपस्थिति हुने जनाइएको छ । बेलायत नेपाल र जापानमा बसोबास गर्ने लेखक–कविलाई कार्यक्रममा निम्त्याउन प्रकाश पौडेलले संयोजनको भूमिका निभाएका छन् ।

१३ वर्षदेखि जापानमा व्यवसाय गरिरहेका प्रकाश पौडेल नेपाली हाइकुका विकास कर्ता एवम् खोज कर्ता मानिन्छन् । उनी जापानी हाइनिज समूहमा प्रवेश पाउने पहिलो नेपाली कवि समेत हुन् । पौडेलको नेतृत्वमा नेपाली हाइकु म्यागेजिन तथा अनलाइन सामग्री नियमित प्रकाशन हुँदै आएको छ ।

गैरआवासीय नेपाली सङ्घको साहित्य फाँटका सदस्य समेत रहेका पौडेल अर्को संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा प्रारम्भदेखि नै सक्रिय छन् । गएको महिना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वरिष्ठ उपाध्यक्षमा उनी निर्विरोध निर्वाचित भएका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा विश्वभर छरिएर रहेको साहित्यिक संस्था हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू