अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

चालु आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक बृद्धि हुने एडिबीको आकलन, सरकारी लक्ष्य भने ७ प्रतिशतको

बिआरटीनेपाल २०७५ असोज १० गते २०:३९ मा प्रकाशित

एसियाली विकास बैंक (एडिबी) चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.५ प्रतिशत हुने आकलन गरेको छ। निर्वाचनपछि मुलुकमा निर्माण भएको राजनीतिक स्थिरता, राम्रो मनसुन र ठुला आयोजनाहरुको तीब्र कार्यान्वयनका लागि भएका प्रयासहरुका कारण उक्त अनुमानित तथ्यांक सार्वजनीक गरेको एडिबीले जनाएको छ ।

यो वृद्धि विगत १० वर्ष (आव सन् २००९–२०१८) को वार्षिक औसत ४.३ प्रतिशतभन्दा उल्लेख्य रुपमा बढी भएको पनि जनाइएको छ । सामान्यतः यो पटक जेठदेखि भदौ (जुनदेखि सेप्टेम्बर) सम्म रहने मनसुन यस आर्थिक वर्षमा सामान्य रहेको छ । समयमानै र सबैतिर समान रूपमा भएको वर्षाका कारण ९५.० प्रतिशत धान रोपाइँ हुने तथ्य सार्वजनिक भएको छ । सरकारले विकास आयोजनाहरुको नजिकबाट अनुगमन गर्ने र कार्यान्वयनमा तीव्रता दिने प्रयास गरिरहेको एडिबीले सार्वजनीक गरेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै विद्युत् आपूर्तिको उपलब्धतामा वृद्धि र उत्पादनमूलक र निर्माणका गतिविधिमा सम्भाव्य विस्तारका कारण औद्योगिक क्षेत्रमा ७.२ प्रतिशत वृद्धि हुने आकलन गरिएको छ । जुन अघिल्लो वर्षको ८.८ प्रतिशतभन्दा कम हो । सेवा क्षेत्र ६.१ प्रतिशत बृद्धि हुने छ । थोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता र यात्रा तथा पर्यटन उपक्षेत्रहरुले गति लिने अनुमान गरिएको छ ।

यद्यपी सरकारले भने बजेट मार्फत चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएको छ । सो लक्ष्य प्राप्तीका लागि आर्थिक गतिविधिलाई थप चलामान बनाउनुका साथै ठुला विकास निर्माणका आयोजनाहरुको कामलाई तीब्र बनाउने पनि सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू