अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

क्रोएसियाका कप्तान लुका मोड्रिच ‘फिफा वर्ष खेलाडी’ घोषित

बिआरटीनेपाल २०७५ असोज ९ गते ९:४६ मा प्रकाशित

क्रोएसियाका कप्तान लुका मोड्रिच यस वर्षको ‘फिफा वर्ष खेलाडी’ घोषित भएका छन् । लण्डनमा गएराति आयोजित एक भव्य समारोहमा मोड्रिचलाई फिफा वर्ष खेलाडीको रुपमा पुरस्कृत गरिएको हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मोड्रिचलाई ‘फिफा द बेष्ट’ अवार्डबाट सम्मानित गरेको हो । मोड्रिचले साबिकका विजेता क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै अवार्ड हात पार्न सफल भएका छन् ।

मोड्रिचले पहिलोपटक यो अवार्ड जितेका हुन् । योसँगै मोड्रिचले फिफा अवार्डमा रोनाल्डो र लियोनल मेस्सीले पछिल्लो ११ वर्षदेखि राख्दै आएको आधिपत्य तोडेका छन् । सन् २००७ यता यस अवार्डमा रोनाल्डो र मेस्सीले पालैपालो जित्दै आएका थिए । रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो अवार्ड जितेका छन् ।

यो वर्ष महिला फुटबलतर्फ ब्राजिलकी खेलाडी मार्ताले फिफा वर्ष खेलाडीको उपाधि जितेकी छिन् । फिफा अवार्डमा उत्कृष्ट प्रशिक्षकको उपाधि भने फ्रेन्च फुटबल टोलीका प्रशिक्षक डिडियर डेस्यँले जितेका छन् । मनोनयनमा रहेका अन्य दावेदारहरु रियाल मड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदान र क्रोएसियाका प्रशिक्षक ज्लात्को डालिचलाई पछि पार्दै डेस्यँ उत्कृष्ट बनेका हुन् । यसैगरी चेल्सीबाट हालै रियाल मड्रिड गएका बेल्जियमका गोलरक्षक थियाबु कोर्टुवा उत्कृष्ट गोलरक्षक बन्न सफल भएका छन् ।

 

प्रतिक्रिया