अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९ | Colorodo: 05:34

करिब २०० अर्ब डलरका चिनिया सामानमा कर वृद्धि सुरु

बिआरटीनेपाल २०७५ असोज ८ गते २०:०७ मा प्रकाशित

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई सय अर्ब अमेरिकी डलर बराबरका चिनिया सामानको आयातमा कर वृद्धि गर्ने गरी पछिल्लो पटक गर्नुभएको घोषणा सोमबारदेखि लागू भएको छ । यो करवृद्धिले विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकबिचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ ।

योसँगै अमेरिका प्रवेश गर्ने कूल दुई सय ५० अर्ब अमेरिकी डलर बराबरका चिनिया सामानमा कर वृद्धि लागू भएको छ । चीनबाट अमेरिका निर्यात हुने करिब आधा सामानमा अब करको असर पर्नेछ । विभिन्न अध्ययनका अनुसार अमेरिकामा आम उपभोगका सामानको मूल्य बढ्नेछ ।

अमेरिकी अर्थतन्त्रमा पर्ने प्रभावको प्रतिरक्षा गर्दै राष्ट्रपति ट्रम्पले चीनले स्वच्छ व्यापारलाई बढावा नदिए चीनबाट आपूर्ति हुने सबै सामानमा कर वृद्धि गर्ने चेतावनी दिनुभएको छ । चीनले खास गरी बजारको लोभ देखाएर अमेरिकी उच्च प्रविधि, रोजगारी र ठुला उद्योग सुटुक्क चीन लगेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

बदलामा बेइजिङले पनि ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरिसकेको छ । चीनले ५ हजार २०० किसिमका अमेरिकी सामानमा ५ देखि १० प्रतिशत कर वृद्धि गर्ने लक्ष्य राखेको छ । यो सहित अमेरिकाबाट आयात हुने करिब एक सय १० अर्ब डलर बराबरका सामानमा कर लाग्नेछ । अर्थात् अमेरिकाबाट आयात हुने सबै वस्तुमा अब कर लाग्नेछ ।

तर राष्ट्रपति ट्रम्पले “तेस्रो चरण”को कर वृद्धि पनि हुने चेतावनी दिनुभएको छ । उहाँले चीनबाट आयात हुने अरू दुई सय ६७ अर्ब डलर बराबरका सामानमा कर वृद्धि गर्ने उल्लेख गर्नुभएको छ । यो चेतावनी कार्यान्वयनमा आए चीनबाट आयात हुने सबै वस्तुमा कर वृद्धि हुनेछ ।

विश्वका यी दुई ठुला अर्थतन्त्र भएका मुलुकबिचको संवाद पनि पछिल्ला समय पातलिएको छ । वाल स्ट्रिट जर्नलका अनुसार चीनले सेप्टेम्बरमा वासिङ्टन पठाउने भनिएको वार्ता टोलीको यात्रा कार्यक्रम रद्द गरेको छ । गत अगस्टको अन्त्यतिर भएको वार्तामा पनि खासै प्रगति भएको थिएन ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले पछिल्ला व्यापारिक तनावले आर्थिक वृद्धिमा कमी आउने प्रक्षेपण गरेको छ । कोषका प्रवक्ता गेरी राइसले करवृद्धिले दुवै मुलुकका साथै विश्वका अन्य राष्ट्रमा पनि प्रभाव पार्ने बताउनुभयो । (रासस/एएफपी) 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू