अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

एनआरएन विज्ञ सम्मेलनमा ४ सय भन्दा बढी सहभागी हुने

बिआरटीनेपाल २०७५ असोज ८ गते १९:४६ मा प्रकाशित

लन्डन, गैर आवासीय नेपाली सङ्घ (एनआरएन) ले काठमाडौँमा प्रथम विश्व विज्ञ सम्मेलन गर्ने भएको छ। असोज २६- २८ (अक्टोबर १२-१४) मा हुने प्रथम विज्ञ सम्मेलनमा ४ सय भन्दा बढी सहभागी हुने कार्यक्रममा संयोजक डा. हेमराज शर्माले बताए ।

विदेशमा कमाएको पुँजी मात्रै नभई विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपयोग गर्ने उदेश्यका साथ सम्मेलन आयोजना हुन लागेको शर्माको भनाई छ । ‘विदेशमा सिकेको ज्ञानलाई स्वदेशमा पुर्‍याउने एनआरएनको उद्देश्य नै हो’, शर्माले भने, ‘हामी यसलाई कार्यान्वयनको चरणमा पुर्यारउन चाहन्छौँ ।’ विदेशमा सिकेको ज्ञान, सीप, र प्रविधिको नेपाल सुहाँउदो प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित हुने छ ।

वैदेशिक रोजगारीमा जानेहरू र अध्ययन, अध्यापनको क्रममा विदेशमा रहेका नेपालीहरूले सिकेको सीपलाई सरकार र एनआरएनले प्रयोगको उपयुक्त वातावरण बनाउनु पर्छ भन्ने सोचका साथ सम्मेलन आयोजना भएको – सम्मेलनका अर्का संयोजक तथा एनआरएनका उपाध्यक्ष कुमार पन्तको भनाई छ ।

सम्मेलनको पहिलो दिन साँझ प्रधानमन्त्री केपो ओलीबाट उद्घाटन र दोस्रो दिन चार वटा प्लेनरी सत्र रहेको छ । पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधिको नीति, प्राविधिक जनशक्तिको अवस्था लगायत विषयमा छलफल हुनेछ । दोस्रो सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । तेस्रो सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानी विषयमा छलफल हुनेछ । नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा समेत छलफल हुने छ ।

दोस्रो दिन कृषि स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा इन्जिनियरिङ, वैकल्पिक ऊर्जा, विज्ञान तथा प्रविधि, जोखिम न्यूनिकरण, वातावरणीय प्रदूषणदेखि लिएर फाईनान्सियल रेफर्म, सामाजिक सुरक्षा लगायतमा छलफल गर्ने कार्यक्रम छ। तेस्रो दिनको कार्यक्रममा आमन्त्रितको मात्र सहभागिता हुनेछ, त्यहाँ सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गरेर सम्मेलन सकिने उनले बताए ।

सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरूबिच पनि छलफल र परामर्शको कार्यक्रम रहेको छ। सम्मेलनका सबै विषयहरू आम जन जीविकासँग जोडिएको उनले दाबी गरे । यसका साथै सरकारका विकासका प्राथमिकता परेका विषय पनि सम्मेलनका छलफलका विषय हुन्।

कृषि उत्पादन र ऊर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणिय प्रदूषण न्युनिकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार विकास, जलविद्युत, व्यवसाहिक शिक्षा, स्वास्थ्य शिक्षा, सङ्घीयतामा शिक्षाको मोडल आदि विषयमा सम्मेलनमा छलफल हुने डा. शर्माले बताए।

सम्मेलनमा नेपाल भित्र र बाहिर रहेका विज्ञहरू, नेपालको बारेमा चासो राख्ने विदेशी विज्ञहरू, नेपाल सरकारका नीति निर्माता, स्वतनन्त्र बुद्धिजीवी, नेपालको निजी क्षेत्र, नेपालस्थित कूटनीतिज्ञ लगायत सबै क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहने आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू