अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 00:44

विपक्षी नेता इब्राहिम विजयी माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित

बिआरटीनेपाल २०७५ असोज ८ गते ९:२८ मा प्रकाशित

माल्दिभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित हुनुभएको छ । निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८.३ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का समर्थकहरुले सडकमा खुशीयाली मनाउँदै नाचगान शुरु गरेका छन् । चुनावी नतिजाप्रति राष्ट्रपति यामीनले कुनै प्रतिक्रिया दिनुभएको छैन । सोलिहको पक्षमा विपक्षीहरुले गठबन्धन निर्माण गरी चुनावी प्रचारमा उत्रिएका थिए । राष्ट्रपति यामीनले सञ्चार माध्यममाथि लगाएका प्रतिबन्धहरुले चुनावमा धाँधली हुने आशंका व्यक्त गरिएको थियो ।

निर्वाचनमा विजयी घोषित नजनिर्वाचित राष्ट्रपति सोलिहले जनताको इच्छालाई सम्मान गर्न राष्ट्रपति यामीनसँग आग्रह गर्दै सत्ताको शान्तिपूर्ण, सहज हस्तान्तरणका लागि आग्रह गर्नुभएको छ । उहाँले राजनीतिक बन्दीहरुलाई तत्काल जेलमुक्त गर्न पनि आग्रह गर्नुभयो । यो निर्वाचनलाई चीन र भारतले महत्वका साथ हेरिरहेका छन् । संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले चुनाव स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न नभए आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू