अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

गण्डकी प्रदेशमा कृषक पहिचान तथा वर्गीकरण, कौसी खेती गर्ने कृषक सौखिन 

बिआरटीनेपाल २०७५ असोज ७ गते ९:२३ मा प्रकाशित
भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशले कृषक पहिचान तथा वर्गीकरण अभियान शुरु गरेको छ । लगानी र उत्पादनको आधारमा कृषकहरुको वर्गीकरण शुरु गरिएको गण्डकी प्रदेशका भुमि ब्यस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले जानकारी दिनुभयो । वहाँका अनुसार कृषकलाई ७ प्रकारको कृषकका रुपमा वर्गीकरण गरिएको छ ।

वर्गीकरणमा बार्षिक लगानी ३ करोड भन्दामाथि, बार्षिक २ करोड भन्दा बढी कारोबार र मासिक ५ लाख आम्दानी गर्दै ३० जनालाई ७ बर्ष देखि रोजगार दिएका किसानलाई विशिष्ट कृषक वर्गमा पर्ने भएका छन् । त्यस्तै बार्षिक ५० लाख लगानी, ४० लाख भन्दा बढी कारोबार र मासिक आम्दानी २ लाख र १५ जनालाई ५ बर्षदेखि रोजगार दिएका किसान उद्यमी कृषक वर्गमा पर्ने मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

२४ लाख लगानी, बार्षिक कारोबार २५ लाख र मासिक १ लाख आम्दानी ९ जना भन्दा बढीलाई ४ बर्षदेखि रोजगार दिएका किसान ब्यवसायिक कृषकका रुपमा बर्गिकरण गरिएको छ । बार्षिक लगानी ५ लाख भन्दा माथि, कारोबार १२ लाख, मासिक ३० हजार ३ बर्षदेखि कम्तीमा ५ जनालाई रोजगार दिएका किसानलाई ब्यबसायोन्मुख कृषकमा वर्गीकरण गरिने भएको छ ।

बार्षिक लगानी ५ लाख भन्दा माथि, कारोबार ५ लाख, मासिक आम्दानी १५ हजार र विगत ३ बर्षदेखि ४ जनालाई रोजगार प्रदान गरेका किसानलाई साना कृषकमा राखिएको छ । ५ लाख भन्दा कम बार्षिक आम्दानी, कारोबार र मासिक ५ हजार कारोबार गर्ने २ बर्ष काम गरेको २ जनालाई रोजगारी सृजना गरेका किसानलाई निर्बाहमुखी कृषकका रुपमा वर्गीकरणमा राखिने भएकोछ ।

१ लाखभन्दा कम बार्षिक लगानी, कारोबार १ लाख भन्दा कम, मासिक आम्दानी १ हजार तथा रोजगारी सृजना २ जना हुने किसानलाई सीमान्तकृत कृषकमा राखिने भएको छ । वर्गीकरण अनुसार करेसाबारी र कौसी खेती गर्नेलाई सौखिन कृषक भनिएको छ ।

नेपालमा कृषकको सख्या ६५ प्रतिशत भन्दा बढी छन् भनिए पनि बास्तविक किसानको प्रतिशत अझै पनि यकिन हुन सकेको छैन् । अहिले बेरोजगारहरुले पनि पेशामा कृषि लेख्दा कृषकको प्रतिशत धेरै भएको अनुमान गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू