अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

संसदीय समितिका सभापतिद्धारा सपथ ग्रहण

बिआरटीनेपाल २०७५ असोज ५ गते ९:५२ मा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गतका १० संसदीय समितिका निर्वाचित सभापतिहरुले सपथ लिएका छन् । शुक्रबार दिउँसो सभामुख कृष्णबहादुर महराले समितिबाट निर्बिरोध निर्वाचित भएका सभापतिहरुलाई संसद सचिवालयमा सपथ गराउनुभएको हो । बिहिबार समितिको सभापतिका लागि उम्मेदवारी दर्ताका क्रममा १० वटै समितिमा निर्विरोध उम्मेदवारी परेको थियो । शुक्रबार बिहान वसेको समितिहरुको बैठकले उम्मेदवारलाई निर्विरोध निर्वाचित गरेको हो ।

यसरी निर्वाचित हुने समितिको सभापतिमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष सांसद रहेका छन् । सपथपछि बोल्दै सभामुख महराले निर्वाचित भएका समितिका सभापतिहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै आफ्नो भूमिका प्रभावकारी रुपमा पूरा गर्ने विश्वास लिएको वताउनुभयो । समितिको सभापतिमा ६० प्रतिशत महिला हुनु गौरवको विषय भएको उहाँको भनाई थियो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पाल, सार्वजनिक लेखा समितिमा भरतकुमार शाह, कृषि–सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल सभापति हुनुभएको छ ।

यस्तै, शशी श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, कृष्णप्रसाद दाहाल अर्थ समितिमा, जयपुरी घर्ती शिक्षा तथा स्वास्थ्य समिति र कल्याणी कुमारी खड्का विकास तथा प्रविधि समितिको सभापति वन्नुभएको छ । सपथ ग्रहणलगतै सभापतिहरुले आजै पदभार पनि ग्रहण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू