अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

ऋषि बरालको पैतालाका डोबहरू मुक्तक सङ्ग्रह विमोचन

बिआरटीनेपाल २०७५ असोज ३ गते १८:५८ मा प्रकाशित

ऋषि बरालको पहिलो कृतिका रूपमा आएको पैतालाका डोबहरू मुक्तकसङ्ग्रहको आज एक भव्य कार्यक्रमकाबिच नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा विमोचन भयो । काठमाण्डौको अनामनगरमा रहेको मिडिया इन्टरनेसनलको सभाहलमा धेरै मुक्तकिला मनहरूका माझमा वरिष्ठ कवि एवम् गीतकार रत्नशम्शेर थापाले कृतिको विमोचन गर्नुभयो ।

करिब दुई घण्टा लामो कार्यक्रममा कृतिका बारेमा समालोचनात्मक टिप्पणी त्रिबिबिका प्रा.डा. खगेन्द्रप्रसाद लुईटेलले गर्नुभएको थियो । वहाँले मुक्तकका सैद्धान्तिक र लेखन शैलीका बारेमा प्रकाश पार्दै मुक्तकका बारेमा रहेका अन्योल र भ्रमका बारेमा खुलेर प्रष्ट्याउनु भयो । विशिष्ट अतिथिका रूपमा नेपाल हाइकु केन्द्रका अध्यक्ष एवम् वरिष्ठ कवि प्रा. रामकुमार पाँडे, अनेसासका नवनिर्वाचित अध्यक्ष एवम् कवि राधेश्याम लेकाली, अनेसासका पूर्व अध्यक्ष एवम् कवयत्रि गीता खत्रीको उपस्थिति थियो । कार्यक्रममास्थापित कवि तथा कवयत्रि, पत्रकार, लेखक, समीक्षक, समालोचक एवम् समकालीन मुक्तक लेखनमा लागेका स्रष्टा तथा सर्जकहरूको विशेष उपस्थिति थियो । 

प्रतिष्ठानका महासचिव एवम् वरिष्ठ मुक्तककार रमेश पौडेलले बरालका मुक्तक सङ्ग्रहमा सङ्गृहीत मुक्तकका बारेमा समीक्षा गर्नुभएको थियो । वहाँले बरालका मुक्तकमा माया, प्रेम, घर देश र परदेशका सुख दुख तथा मानवीय प्रवृत्तिका सुन्दर छनक पाउन सकिन्छ भन्नुभयो । कार्यक्रमको सभाध्यक्ष नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष एवम् मुक्तककार रामकाजी कोनेले गर्नुभएको थियो भने नेपाल मुक्तक प्रतिष्ठानका सचिव बादल घिमिरेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । पैतालाको डोबहरू नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यस कृतिभित्र जम्माजम्मी २१६वटा विभिन्न परिवेश र समयमा बरालद्धारा सृजित चतुष्पदीय छन्दका मुक्तकहरू समेटिएका छन् भने उनका मुक्तकले वर्तमानको युगीन परिवेशलाई स्पष्ट सम्बोधन गर्न सफल भएका छन् । 

९६ पृष्ठ रहेको यस सङ्ग्रहको मूल्य रु १७५ रहेको छ । आवरण कलामा वरिष्ठ कवि एवम् रेडियो नेपालका रमेश पौडेलले रङ भर्नुभएको हो । पुस्तकको डिजाइन चितवनका स्थापित डिजाइनर दीपेन्द्र कुमार जोशी निकाले गर्नुभएको छ । डा. लक्ष्मणप्रसाद गौतमको भूमिका लेखन रहेको उक्त कृतिमा मुक्तककार रमेश पौडेल र वरिष्ठ हाइकुकार एवम् कवि प्रकाश पौडेल माइलाका शुभकामनारुपी मन्तव्यहरू समेत रहेका छन् । सर्जक ऋषि बरालले मुक्तक सङ्ग्रह लेखन प्रकाशनका क्रममा आफूले भोगेका अनुभवहरूलाई साटासाट गर्दै कृतिभित्रका केही मुक्तकहरू समेत वाचन गर्नुभएको थियो । 

नेपाल मुक्तक प्रतिष्ठानका विष्णुबहादुर सिंहले स्वागत मन्तव्य गर्नुभएको थियो भने बरालका मुक्तक कृतिबाट केही मुक्तकहरू मुक्तककार एवम् गीतकार प्रकाश सुवेदी र कबियत्री शान्ति शर्माले वाचन गरेर सुनाउनुभएको थियो । आमन्त्रित अतिथि, विशिष्ट अतिथि, प्रमुख अतिथि कार्यक्रम सञ्चालक, सभाध्यक्षसबैलाई खादा ओढाएर सम्मान गर्नुकासाथै पैतालाका डोबहरूको सम्झनारुपी मायाको चिनो समेत दिनुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू