अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

उत्थानशील समुदाय निर्माणमा रेडक्रसको प्रतिबद्धता

बिआरटीनेपाल २०७५ असोज ३ गते १२:०५ मा प्रकाशित

नेपालमा सञ्चालित मानवीय सेवाका गतिविधिहरूलाई प्रभावकारी बनाउँदै उत्थानशील समुदाय निर्माण गर्न रेडक्रस अभियानका अंगहरु साझेदारीको नयाँ ढाँचामा सहमत भएका छन् । नेपाल रेडक्रस सोसाइटी र अन्तर्राष्टिय महासङ्घ र आइसीआरसीको संयुक्त आयोजनामा हिजो बेलुकी सम्पन्न दुइदिने रेडक्रसको साझेदारी बैठक (Nepal Partnership Meeting) ले नेपालमा समन्वयात्मक र प्रभावकारी सहयोगको लागि साझा नेतृत्व (Shared leadership) को अवधारणा अघि सारेको हो । 

यसैबिच विभिन्न देशका रेडक्रस सोसाइटीहरूले नेपालमा उत्थानशीलता, लैँगिक समानता, पूर्व तयारी, नगद सहयोग, स्वास्थ्य र जवाफदेहिता जस्ता क्षेत्रमा सहयोग अभिवृद्धि जनाएका छन् । समापन समारोहलाई सम्बोधन गर्दै नेरेसोका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो ः नेपाल रेडक्रसको सातौँ विकास योजनाका प्राथमिकता क्षेत्रमा सहयोग गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न नेपाल रेडक्रसले साझेदारबाट पाएको सहयोग सह्रानीय छ । 

कार्यक्रमको दौरानमा सहभागी अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, स्वीजरल्याण्ड, बेल्जियम, क्यानडा, डेनमार्क, फिनल्यान्ड, जापान, थाइल्याण्ड लगायतका मुलुकका रेडक्रसका प्रतिनिधिहरूले नेपालमा रेडक्रसको संस्थागत विकास र सामुदायिक सहयोगमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका नेरेसोका निर्देशक दिव्य राज पौडेलले जानकारी दिनुभयो

बैठकमा नेपालको अवस्थाबारे विश्लेषण, नेपालमा प्रयोग गरिएका विकासका मोडलहरू,गत साझेदार बैठकका निचोड र प्रगति, नेपाल भूकम्प सहयोगको प्रगति र आगामी दिनको साझेदारीका प्राथमिकता जस्ता क्षेत्रमा गहन छलफल गरिएकोले बैठक सफल भएको धारणा नेरेसोका महामन्त्री देव रत्न धाख्वाले व्यक्त गर्नुभयो । 

सो २ दिने बैठकमा १८ वटा विभिन्न देशका रेडक्रस रेडक्रिसेन्ट सोसाइटीका प्रतिनिधिहरू, नेपाल सरकारका प्रतिनिधि, संयुक्त राष्ट्रसँघ नियोग तथा विज्ञहरू र रेडक्रस अभियानका अँगहरुका प्रतिनिधि गरी ७१ जनाको सहभागिता रहेको थियो । साझेदार मुलुकका प्रतिनिधिहरू आज फिल्ड अवलोकनका लागि विभिन्न जिल्लाहरूमा जानुभएको छ ।

कार्यक्रममा नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, आइएफआरसी एसिया प्रशान्त क्षेत्रका उपनिर्देशक मार्टिन फलर (Martin Faller) र साझेदारी विभाग प्रमुख पियरे क्रेमर (Pierre Kremer, Head of Partnership, IFRC ) तथा अष्ट्रेलियन रेडक्रसका मुकेश सीँले सहजीकरण गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू