अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

धनी र गरिब बीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको खतरा –नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ असोज ३ गते ९:३७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो संख्याका जनतालाई गरिबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने वताउनुभएको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा चीनको च्याङ्सु प्रान्तको नानजिङमा आयोजना गरिएको ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौं’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तन र गरिबीको चुनौतीलाई सम्बोधन नगरेसम्म दिगो शान्ति र वास्तविक सुरक्षा सपनामै सीमित रहने उल्लेख गर्नुभयो ।

शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभूति एउटा पूर्वशर्त भएको बताउँदै अध्यक्ष प्रचण्डले त्यसको आधार समावेशी, समानता र दिगो विकास भएको वताउनुभयो । लाखौं मानिस अहिले पनि गरिबीको रेखामुनि रहन बाध्य भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबीचमा लाखौं मानिस केही दशकयता गरिबीको रेखाबाट बाहिर आएपनि धनी र गरिबबीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको खतरा बढेको ठहर गर्नुभयो । विश्व शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्वलाई अन्तर्राष्ट्रिय समुदायले व्यापकरुपमा आत्मसात् गर्नु एउटा खुसीको विषय भएको उहाको भनाई थियो । दिगो शान्ति र सुरक्षा तथा सुव्यवस्था प्राप्तिका लागि मुलुक मनैदेखि मिलेर लागिरहे पनि केही मुद्दाहरु सामूहिक प्रयासबाट पनि समाधान हुन बाँकी रहेको प्रचण्डको भनाई छ ।

विश्वको एउटा भागको शान्ति र स्थिरताले विश्वको अर्को भागलाई त्यही दिशामा धकेल्न प्रोत्साहित गरेको उल्लेख गर्दै उहाँले न्यूयोर्क वा सांघाईको सेयरबजारमा हुने उतार–चढावले विश्व अर्थतन्त्रलाई तरंगित बनाउने गरेको उल्लेख गर्नुभयो । सो अवसरमा प्रचण्डले आतंकवाद, क्रुर हिंसा र अन्तरदेशीय अपराधको संयन्त्र तीव्ररुपमा फैलिइरहेकामा चिन्ता समेत व्यक्त गर्नुभयो । जनता र देशलाई जोड्न चीनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै अध्यक्ष प्रचण्डले सबैलाई हित हुनेगरी बजारलाई एकीकृत गर्ने र क्षेत्रीय आर्थिक सहयोग अभिवृद्धि गर्ने ‘वेल्ट एन्ड रोड इनिसियटिभ’को कार्ययोजनाले अन्तर्राष्ट्रिय समुदायबाट व्यापक सहयोग प्राप्त गरेको दावी गर्नुभयो ।

नेपालले पटक–पटक संयुक्त राष्ट्रसंघ घोषणापत्रका सिद्धान्तको वकालत गर्दै आएको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले संविधानमा विश्व शान्तिका लागि नेपालको प्रतिबद्धता प्रतिविम्बित भएको वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू