अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

मौलिक हकसम्बन्धि कानुन विधिसम्मत ढंगले पारित गरिएको छ – सभामुख महरा

बिआरटीनेपाल २०७५ असोज २ गते ९:१० मा प्रकाशित

संघीय संसद सचिवालयले मौलिक हकसम्बन्धि सबै कानुन विधिसम्मत ढंगले पारित गरिएको जनाएको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि कानुन तोकिएकै समयभित्र विधिसम्मत ढंगले पारित गरिएको औंपचारिक जानकारी गराउनुभएको छ । असोज ३ गतेभित्र निर्माण गरिसक्नु पर्ने मौलिक हकसँग सम्बन्धित सबै कानुन निर्माण कार्य विधिसम्मत ढंगले पूरा गरिएको सभामुख महराले जानकारी दिनुभयो । उहाँले सरकारले केही विधेयक ढिला गरी ल्याएपनि त्यसलाई प्रक्रिया पु¥याएरै पारित गरिएको पनि स्पष्ट पार्नुभयो ।

भदौं ३१ गतेसम्म प्रतिनिधिसभा र राष्ट्रियसभाले मौलिक हकसँग सम्बन्धि १६ वटा कानुन पारित गरेको थियो । सभामुख महराले संघीय संसदबाट पारित सो कानुन राष्ट्रपतिले आजै प्रमाणिकरण गर्ने जानकारी दिनुभयो । सभामुख महराले मौंलिक हकसँग सम्बन्धित कानुन निर्माणका लागि सहयोग गरेकोमा सरकार, प्रमुख प्रतिपक्ष दललगायतका सबै राजनीतिक दल,संसदीय समितिहरु, संसद सचिवालयका सबै कर्मचारीहरुलाई धन्यवाद समेत दिनुभएको छ । सभामुख महराले प्रतिनिधिसभामा ७ वटा र राष्ट्रियसभामा रहेको ३ वटा विचाराधीन विधेयक पनि १५ दिनभित्र पारित गरी सक्ने योजना सार्वजनिक गर्नुभयो ।
पत्रकार सम्मेलनमा वोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार पारित गर्नुपर्ने विधेयक संसदमा पेश गर्न सरकारलाई ताकेता गरिरहेको जानकारी दिनुभयो । मौलिक हकसँग सम्बन्धित कानुन निर्माण कार्य पहिलो प्राथमिकतामा भएकाले संसदको वर्षे अधिवेशनमा सो विधेयकलाई उच्च प्राथमिकता दिनु परेको तिमिल्सिनाको स्पष्टोक्ति थियो ।

सरकारले हालसम्म ३२ वटा विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ । ती मध्ये २२ वटा विधेयक पारित गरिएको पनि सो अवसरमा जानकारी दिईएको थियो । बाँकी १० वटा विधेयक पनि यही अधिवेशनमा पारित गरिसक्ने संघीय संसद सचिवालयको योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू