अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य –प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ असोज २ गते ९:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य रहेको वताउनुभएको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण सभालाई सम्बोधन गर्दै ओलीले सो कुरा वताउनुभएको हो । उहाँले मुलुकलाई सुशासन र आर्थिक विकासको बाटोमा अघि बढाउने गरी शैक्षिक नीति तथा कार्यक्रम तय गर्न पनि सम्बन्धित निकायलाई निर्देशन पनि दिनुभयो । मुलुकलाई समृद्ध बनाउन आवश्यक शिक्षित, सक्षम र दक्ष जनशक्ति बनाउने गरी शैक्षिक नीति तथा कार्यक्रम बनाउनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।

त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहनुभका प्रधानमन्त्री ओलीले मानवोचित सभ्य र सुसंस्कृत समाज निर्माण हुने गरी राज्यले शैक्षिक नीति लिनुपर्ने प्रष्ट पार्नुभयो । मुलुकलाई सुशासन र आर्थिक उन्नतिको बाटोमा अघि बढाउनुको विकल्प नरहेको उल्लेख गर्दै सबै क्षेत्रलाई सो लक्ष्य हासिल हुनेगरी अघि बढ्न प्रधानमन्त्री ओलीले आव्हान समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले दीगो विकास लक्ष्य हासिल हुने गरी अघि बढ्न पनि त्रिभुवन विश्वविद्यालयलाई सचेत गराउनुभएको छ । सन् २०३० भित्र दीगो विकास लक्ष्य हासिल गरिसक्ने प्रतिवद्धता नेपालले पनि जनाएकाले सोही अनुसारको काम, कारबाही अघि बढाउन पनि विश्वविद्यालयका पदाधिकारीलाई प्रधानमन्त्री ओलीको आग्रह थियो ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले अपेक्षित प्रगति गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले विश्वविद्यालयका पदाधिकारीको नियुक्ति कार्य क्षमताको आधारमा गर्ने उल्लेख गर्दै परिवर्तित समयलाई सम्बोधन हुने गरी काममा लाग्न पनि विश्वविद्यालयका पदाधिकारीलाई सचेत गराउनुभएको छ । त्रिभुवन विश्वविद्यालयका सहकूलपति समेत रहनुभएका मन्त्री पोखरेलले विश्वविद्यालयलाई तदर्थवादको रूपमा चलाउन नहुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू