अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

उठाउनुपर्ने एक रुपैयाँ पनि नछोड्न मध्यमस्तरीय कर कार्यालयलाई अर्थमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७५ असोज १ गते ९:२८ मा प्रकाशित

ठूला करदाता कार्यालयको केही क्षेत्राधिकारसहित १, २ र ३ क्षेत्रीय कर कार्यालयहरु गाभिएर मध्यमस्तरीय कर कार्यालय संचालनमा आएको छ । सो कार्यालयलको सोमवार अर्थमन्त्री डा. युवराज खतिवडाले औपचारिक उद्घाटन गर्नुभयो । मध्यमस्तरीय कर कार्यालयको नेतृत्व सहसचिव झक्क प्रसाद आचार्यलाई दिइएको छ ।

कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले उठाउनुपर्ने १ रुपैयाँ पनि नछोड्न र नलिनुपर्ने १ रुपैयाँ पनि नलिन निर्देशन दिनुभयो । मुलुकको राजश्व संकलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री खतिवडाले दायरबाहिर रहेकालाई समेट्ने गरी काम गर्न सुझाव दिनुभयो । विभिन्न क्षेत्रअनुसार कारोबारको सीमा तोकेर कार्यालयलाई क्षेत्राधिकार दिएको छ ।
कार्यालय प्रमुख आचार्यका अनुसार कार्यालयले सामान्यतया ४० देखि ८० करोड कारोबार हुने करदाता हेर्ने छ । तर बैंक, मेडिकल कलेज, निर्माण व्यवसाय गर्ने संस्था, ट्राभलजस्ता कम्पनीको हकमा २५ करोडदेखि माथिको कारोबार हेर्ने छ । मध्यमस्तरीय कर कार्यालयको क्षेत्राधिकारभित्र बढीमा तत्काल ७ सय करदाता हुने कार्यालयको आँकलन छ । ४० करोड माथिको कारोबार गर्ने करदाता हेर्दै आएको ठूला करदाता कार्यालयको क्षेत्राधिकरमा करदाताको संख्या तत्काल घट्ने भएको छ ।

हाल १३ सय करदाता भएको उक्त कार्यलयको क्षेत्राधिकारबाट आधा करदाता कम हुने छन् । युवराज खतिवडाले अर्थमन्त्रालय सम्हालेपछि लोकसेवा आयोगबाट अर्थ मन्त्रालय आएका आचार्यलाई नयाँ कार्यालयको नेतृत्वको जिम्मा दिइएको छ । नयाँ कार्यालय स्थापना र संचालनको अनुभव भएको भन्दै अर्थ मन्त्रालयले आचार्यलाई फिल्ड कार्यालयको प्रमुख बनाएको हो । कार्यालयलाई ८ जना उपसचिव २० जना शाखा अधिकृत दिइएको छ ।

प्रतिक्रिया