अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 01:52

सरकारविरुद्ध नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन-गृहमन्त्रीको राजिनामा माग

बिआरटीनेपाल २०७५ असोज १ गते ९:२१ मा प्रकाशित

कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नेविसंघले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्ले लगायतका नेताहरुको नेतृत्वमा प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । सो क्रममा नेविसंघका कार्यकर्ताले सरकारको चर्को आलोचना समेत गरेका थिए । चुनावअघि नेकपाले गुलिया कुरा गरेको तर चुनावपछि केही नगरेको भन्दै प्रदर्शनका क्रममा सरकारको चर्को आलोचना समेत गरिएको थियो ।

प्रदर्शनका सहभागीहरुले प्रधानमन्त्रीको शनिबारको अभिव्यक्तिलाई संकेत गर्दै अरिंगाले सरकार भन्दै कटाक्ष समेत गरेका थिए । राजधानीको विश्वभाषा क्याम्पसबाट निकालिएको विरोध जुलुस पुतलीसडकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै अध्यक्ष महर र उपाध्यक्ष कृष्णकुमारी बस्नेतले पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभएको थियो । अध्यक्ष महरले निर्मलाको हत्यारालाई पत्ता लगाई कारबाही गर्न अब पनि ढिलाइ गरिए आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिनुभयो ।

संघले हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न सरकार असक्षम भएपछि आफूहरू त्यसविरूद्ध सडक संघर्षमा आउन बाध्य भएको पनि जनाएको छ । संघले जारी हत्या, हिंसा अन्त्य नभएसम्म सरकारविरूद्धको आन्दोलन जारी राख्ने जनाएको छ ।
यसैवीच, नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । १३ वर्षीया निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै नेविसंघले गृहमन्त्री थापाको राजीनामा माग गरेको हो । मुलुकमा जारी हत्या, हिंसा र बलात्कारविरूद्ध सोमबार काठमाडौंको प्रर्दशनीमार्गका विरोध प्रदर्शनमा उत्रेका संघका नेता, कार्यकर्ताहरूले सरकारविरूद्ध चर्का नाराबाजी सहित गृहमन्त्रीको राजिनामा मागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू