अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

निर्मला पन्त हत्या प्रकरणः दोषीलाई कडा कारवाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

बिआरटीनेपाल २०७५ असोज १ गते ९:१९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी लाई कडा कारवाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ । अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन उहाँले पीडित परिवारलाई आग्रह गर्नुभयो । छिटो घटनाको अनुसन्धान गरी दोषीमाथि कारवाहीको माग सहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन नसक्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराधको भएकाले कडाइका साथ छानबिन र निर्ममताका साथ कारवाही गर्न आफूले शुरुदेखि गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउनुभयो । जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि संन्दिग्ध भएकाले निलम्बनसमेत गरिएको र पछिल्लो समयमा प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरिएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रारम्भिक छानबिनमा स्थानिय प्रहरीको भरपर्दा दोषी पत्ता लगाउने काममा ढिलाइ भएको स्विकार गर्दै प्रधानमन्त्री ओलीले प्रहरीका अधिकृतले गल्ती वा बदमासी गरेका हुन सक्ने तर अनुसन्धान पूरा नभइकन आरोप लगाइहाल्न नमिल्ने वताउनुभयो । कुनै जुलुस र धर्ना नभए पनि राज्यले आवश्यक छानविन सहित कानूनी कारवाही गर्ने उहाको भनाई थियो । दोषीलाई बचाउने कुरा सोच्न पनि नसकिने प्रधानमन्त्रीले वताउनुभयो ।

महिला तथा वालवालिका माथि हुने वलत्कार र हत्या जस्ता आपराधिक घटना र मनोवृत्तिलाई सामान्य रुपमा लिन नहुने बताउँदै प्रधानमन्त्रीले कुनै पनि हालतमा अपराधीले छुट नपाउने चेतावनी दिनुभयो । सो अवसरमा निर्मलाकी वावु –आमाले अपराध लुकाउन प्रमाण नष्ट गरिएको र ६० दिन बित्न लाग्दा पनि दोषीमाथि कारवाही नभएकाले बाध्य भएर प्रधानमन्त्रीसँग न्याय माग्न आएको गुनासो गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले अपराधीलाई कानूनको कठघरामा ल्याउन सरकारले कुनै कदम बाँकी राख्न नहुने वताउनुभयो । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले कञ्चनपुरवासीलाई न्याय दिन र त्यहाँको वातावरण शान्तिपूर्ण बनाउन प्रमुख प्रतिपक्षलगायत सबै दल लागिरहेकाले सरकारले दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने माग गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू